जेठ ०६, २०८१, आइतबार
               

नेकपा विवाद तत्काललाई केही मत्थर
आन्तरिक तथा बाह्य शक्ति केन्द्रको सक्रियता बढ्यो

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ नेकपाभित्रको विवाद तत्काललाई केही मत्थर देखिएको छ । दुवै पक्ष पूर्ववत् अडान र रणनीतिबाट केही पछि हटेपछि तत्काललाई पार्टी विभाजनको खतरा टरेको छ । 

अब बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेस गर्ने भएका छन् । बुधबार बसेको सचिवालय बैठकमा ओलीले छुट्टै प्रतिवेदन पेस गर्ने बताएका हुन् । 

अब बस्ने सचिवालय बैठकमा ओली र अर्को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवैको प्रतिवेदनमाथि छलफल गर्ने तयारी छ । यस्तै आउँदो १८ गते स्थायी कमिटी बैठक र २५ गते केन्द्रीय कमिटी बैठक पनि बस्ने भएको छ । अब सचिवालय बैठक बस्नुअघि विवाद समाधान हुने नेताहरूको दाबी छ ।  

पार्टी विभाजनउन्मुख विवाद चर्किँदै जाँदा आन्तरिक तथा बाह्य शक्तिकेन्द्रको सक्रियता बढ्न थालेको छ । विवाद मत्थर पार्न र विभाजनबाट रोक्नका लागि बाह्य शक्ति चिनियाँ दूतावासदेखि आन्तरिक शक्ति केन्द्रको रूपमा रहेको राष्ट्रपति कार्यालयको सक्रियता बढेको छ।

केही दिनदेखि राष्ट्रपति विद्यादेवी भण्डारीको नेकपाका नेताहरूसँग बाक्लै  भेटघाट भएको छ । त्यस्तै, बाह्य शक्ति केन्द्र चिनियाँ दूतावासका तर्फबाट राजदूत होऊ यान्छीले पनि राजनीतिक भेटलाई तीव्रता बढाउँदै लगेकी छन् ।

यसअघि सचिवालय बैठक २८ गते बसेको थियो । सो बैठकमा प्रधानमन्त्री ओलीको पत्रलाई प्रचण्डले काउन्टर दिँदै अर्को पत्र दिएपछि बैठक तनावपूर्ण बनेको थियो । दुई अध्यक्षबीच आदान–प्रदान भएका चार पत्र र दाहालको राजनीतिक प्रस्ताव अध्ययनका लागि उपलब्ध गराइएको थियो । उक्त पत्र सार्वजनिक नै भएपछि नेताहरूबिच थप तनाव उत्पन्न भएको हो । सोही बैठकमा बुधबार सचिवालय बैठक बस्ने निधो भएको थियो ।

विवाद चर्किँदै जाँदा भएका पछिल्ला घटनाक्रम

मंसिर ३

लामो रस्साकस्सीपछि नेकपा सचिवालय बैठक बस्यो । सत्तारुढ नेकपाको विवाद चरम उत्कर्षमा पुगेपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली अन्ततः गले ।  पार्टी सचिवालय बैठक टार्दै आएका उनी सचिवालय बैठकमा सहभागी भए । बैठकमा ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेस गर्ने धारणा राखे । यसअघि गएको शुक्रवार बसेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रस्ताव पेस गरेका थिए । ओलीले पेस गर्ने प्रस्तावलाई समेत ध्यान दिँदै अबको सचिवालय बैठक १० दिनपछि बस्ने निर्णय भएको छ ।

मंसिर ३

सचिवालय बैठकअघि प्रधानमन्त्री ओली शीतल निवासमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी भेट गरे । सचिवालय बैठक बोलाइएकै समयमा मन्त्रिपरिषद् बैठक बोलाएका उनले राष्ट्रपतिसँग नेकपा विवादका विषयमा छलफल गरेका थिए ।

मंसिर २

नेकपाको विवाद उत्कर्षमा पुगेका बेला सक्रिय राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेकपा अध्यक्ष प्रचण्डले भेट गरे । करिब दुई घण्टा भएको छलफल नेकपाको विवादका विषयमा थियो । स्रोतका अनुसार पार्टी विभाजन रोक्नका लागि ओलीलाई सम्झाउन प्रचण्डले राष्ट्रपतिलाई आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीले विगतमा जस्तै राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएमा स्वीकृत नगर्न राष्ट्रपतिलाई प्रचण्डले आग्रह गरेका थिए ।

मंसिर २

सचिवालय बैठकको अघिल्लो दिन बिहान खुमलटार पुगेर महासचिव विष्णु पौडेलले कार्यकारी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरे । भेटमा बैठक सार्न पौडेलले प्रचण्डलाई आग्रह गरे । तर प्रचण्डले मानेनन् । प्रचण्डले नमानेपछि रस्साकस्सीकै बीच बुधबार सचिवालय बैठक बस्यो ।

मंसिर २

चिनियाँ राजदूत होऊ यान्छीले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरिन् । भेटवार्ता प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टासम्म चलेको थियो । भेटमा राजदूत यान्छीले नेकपाभित्रको विवादको विषयमा चासो राखेकी थिइन । पार्टी विभाजनको प्रस्थान विन्दुको रूपमा लिएको बुधवारको बैठक टार्न र त्यो मिलाउने प्रयास गर्ने आश्वासन राजदूतले प्रधानमन्त्रीलाई दिएको हुन सक्ने पार्टी नेताहरूको धारणा छ । परराष्ट्र अधिकारीको उपस्थितिविना राजदूतको भेटले सन्देह फैलिएको मात्र होइन निकै अर्थपूर्ण भेटको रूपमा यसलाई लिन सकिन्छ ।

कात्तिक ३०

नेकपा उपाध्यक्ष वामदेव गौतमले बालुवाटार पुगेर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरे । भेटमा गौतमले सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रस्तावमा आफ्नो पनि योगदान रहेको प्रधानमन्त्रीलाई जानकारी गराए ।

कात्तिक ३०

आफूमाथि इतर पक्षले लगातार दबाब बढाइरहँदा प्रधानमन्त्री ओलीले बालुवाटारमा आफू निकट महासचिव विष्णु पौडेल र अर्को अर्को पक्ष वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरे । ओलीले आफूमाथि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएका आरोपहरू झुटा भएको भन्दै नेपाललाई विश्वासमा लिने प्रयास गरे । आफूले त्यस्ता ‘वाहियात एवं झुटा आरोपहरूको जवाफ नदिने बताए ।

कात्तिक २९

प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटे । पार्टी विवादका विषय र आफूले चाल्नुपर्ने कदमका विषयमा उनले परामर्श गरेका थिए ।

कात्तिक २८ 

ओलीले उपाध्यक्ष गौतमलाई आफ्नो पक्षमा ल्याउने प्रयास स्वरूप छलफल गरे । रोजेको मन्त्रालय लिएर आफूलाई साथ दिन ओलीले गौतमलाई प्रस्ताव गरे ।

कात्तिक २८

सचिवालय बैठक बस्यो । बैठकमा प्रचण्डले पार्टीको सङ्कटबारे राजनीतिक प्रतिवेदन पेस गरे । बैठक बोलाउन सहमति दिन माग गर्दै अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई पेस गरेको पत्र, त्यसको जवाफमा ओलीले प्रचण्डलाई लेखेको पत्र र त्यसको प्रतिउत्तरमा प्रचण्डले ओलीलाई लेखेको पत्र समेत बैठकमा नेताहरूलाई दिइयो । प्रचण्डले सचिवालय सदस्यहरूलाई अध्ययनका लागि वितरण गरेको दस्ताबेजमा ओली माथि पार्टीको नीति निर्देशन, विधान, चुनावी घोषणा पत्र विपरीत हिँडेको गम्भीर आरोप लगाइएको छ ।

कात्तिक २७

अध्यक्ष प्रचण्डले आफू निकटका सचिवालय नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरे । एक दिनपछि ओलीको असहमतिको बाबजुत आफू एक्लैले सचिवालय बैठक बोलाएपछि प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग छलफल गरे । त्यसअघिकै पाँच नेताले बैठक माग गर्दै अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई लिखित पत्र नै बुझाएका थिए ।

कात्तिक २६

इतर पक्षले सचिवालय बैठक राख्न दबाब दिई रहँदा त्यो बैठक छल्न प्रधानमन्त्री ओली संखुवासभा पुगे । भाषणमा ‘प्रधानमन्त्री र अध्यक्ष दुवै पद नछाड्ने’ सन्देश दिए । 

कात्तिक २५

प्रचण्डलाई भेट्न स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल खुमलटार गए । पोखरेलले प्रधानमन्त्री ओलीसँग सहमति गरेर बैठक बोलाउने वातावरण बनाउन प्रचण्डसँग आग्रह गरे ।  तर, प्रचण्डले भने सचिवालय बैठक बसेपछि मात्रै समस्या समाधानबारे छलफल हुने जवाफ दिए ।

कात्तिक २५

प्रचण्डसहित पाँच नेता छलफलमा बसे । छलफल लगतै प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसामु सचिवालय बैठक बोलाउन प्रस्ताव गरे । तर, ओलीले सहमति जनाएनन् ।

कात्तिक २४ गते

पार्टीको  एकता कायम राख्ने गरी सुझाव प्रस्तुत गर्न तीन महिनाअघि बनेको कार्यदल फेरि सक्रिय बनाउने प्रयास भयो । तर  पूर्वमाओवादीका नेताहरू कार्यदल सदस्यहरू जनार्दन शर्मा र पम्फा भुसाल बैठकमा गएनन् । शर्मा र भुसाल नआएपछि प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका कार्यदलका अन्य सदस्यहरू नभेटी फर्किए ।

कात्तिक २४ गते

प्रधानमन्त्री ओलीको अभिव्यक्ति र व्यवहारलाई लिएर पार्टीको अनुशासन आयोगले विज्ञप्ति निकाल्यो । विवाद समाधानको लागि ओलीको अडान सही नभएको विज्ञप्तिको आशय थियो ।

कात्तिक २३

प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग भेट गरे । नेपालको साथमा अरू केही स्थायी कमिटी सदस्यहरू समेत सहभागी थिए । त्यो साता उनले नेपालसँग तीन सातामा तीनपटक भेटवार्ता गरे । पार्टीभित्र प्रचण्डसँग दुरी बढ्न थालेपछि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाललाई कात्तिक ४ र कात्तिक ११ मा एक्लै भेटेका थिए । त्यसपछि २३ गते सामूहिक भेट गरेका हुन् । सो भेटमा प्रधानमन्त्री ओलीले पार्टी अप्ठ्यारोमा परेकाले सहकार्यको प्रस्ताव राखेका थिए ।

कात्तिक २३

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेला काठमाडौंका पूर्वएमालेहरूको भेला भयो । जिल्ला अध्यक्ष कृष्ण राईकै संयोजनमा भएको भेलालाई उपप्रधानमन्त्री रहेका नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले सम्बोधन गरेका थिए ।

कात्तिक २२ गते

प्रधानमन्त्री ओलीसँग प्रचण्डसहित सचिवालयका बहुमत पाँच नेताले भेट गरे । लिखित रूपमै बैठक बोलाउने सहमति दिन आग्रह आग्रह गरे । पाँच नेताको जोड कात्तिक २३ वा २४ मा बैठक बोलाउने थियो । त्यसअघि पार्टी  कार्यालय धुम्बाराहीमा बहुमत पाँच नेताको छलफल भएको थियो । छलफलअनुसार सचिवालय बैठकका लागि प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई मनाउन पाँच नेता बालुवाटार पुगेका थिए । 

कात्तिक २१

सचिवालय सदस्य पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५ का अगुवा नेता, कार्यकर्ताहरूसँग अन्तरक्रिया गरे । सो कार्यक्रमलाई अन्तरक्रिया भनिए पनि गुटको भेलाको रूपमा लिइएको छ ।

त्यसक्रममा अगुवा नेता⁄कार्यकर्ताले पार्टीभित्रको समीकरण निर्माण र त्यसले निम्त्याएको सङ्कटबारे चासो व्यक्त गरेका छन् । सो अवसरमा उपप्रधानमन्त्री समेत रहेका पोखरेलले पार्टी केन्द्रको विवाद र असहज परिस्थितिले निम्त्याएको अन्यौलताबारे कार्यकर्ताले राखेको चासोलाई सम्बोधन गरेका थिए ।

कात्तिक १९ 

प्रधानमन्त्री ओलीले इतर पक्षलाई चेतावनी दिँदै आफूले पदबाट राजीनामा नदिने बताए । मनमोहन सेन्टर एनेक्सको भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘के अहिले मैले राजीनामा दिन मिल्छ ? मैले राजीनामा दिनु भनेको देशलाई बरबादीतिर जान दिनु हो । त्यसकारण म राजीनामा दिने बाला छैन ।’

कात्तिक १८

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा नेता प्रदीप नेपाललाई भेट्न उनकै घरमा पुगेर ओलीलाई सम्झाउन आग्रह गरे ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि