बैशाख १७, २०८१, सोमबार
               

प्रधानमन्त्री ओलीले विष्णु पौडेल नेतृत्वको कार्यदलका सदस्यलाई बालुवाटार बोलाए

नेपाल फ्ल्यास
कात्तिक २४, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ‘पार्टी विवाद समाधानार्थ कार्यदल’ का सदस्यहरुलाई बालुवाटार बोलाएका छन् ।

पार्टीमा विवाद चर्किरहेका बेला विष्णु पौडेलको संयोजकत्वको सो कार्यदलका सदस्यलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएका हुन् । सो कार्यदलमा महासचिव विष्णु पौडेल, नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल छन् । बैठकमा पूर्वएमाले पक्षका नेताहरु मात्र सहभागी हुने भएका छन् ।

पूर्वमाओवादीका नेता शर्मा कोरोना संक्रमण भएर होम आइसोलेसनमा रहेका छन् भने पम्फा भुसलाले आफू उपस्थित हुन नसक्ने बताएकी छिन् । यसअघि पार्टी विवाद समाधानका लागि गत साउनमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलमा चार जना पूर्वएमालेबाट छन् भने दुई जना पूर्वमाओवादी समूहबाट छन् ।

पार्टी विवादको निरुपणका लागि बैठक डाक्न नेकपाका बहुमत सचिवालय सदस्यले अध्यक्ष केपी शर्मा ओलीलाई दुई दिनको समयसीमा दिएका थिए । सो समयाविध सोमाबारै सकिँदै छ । 

दुई दिनअघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले सामूहिक रुपमा लिखित माग राख्दै प्रधानमन्त्री ओलीलाई बैठक डाक्न आग्रह गरेका थिए ।

एकलौटीरूपमा राजदूत सिफारिस, मन्त्रिमण्डल पुनर्गठन, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध ल्याइएको अविश्वासको प्रस्ताव र ‘रअ’ प्रमुखसँग प्रधानमन्त्री ओलीले भेटेकाले दाहाल-नेपाल पक्ष ओलीसँग असन्तुष्ट छ ।

सरकारले महत्वपूर्ण निर्णय गर्नुपूर्व सचिवालयका सदस्यको सुझाव लिनुपर्ने, अध्यक्षद्वयको आपसी परामर्श र सहमतिको आधारमा गर्नुपर्ने सहमति प्रधानमन्त्री ओलीले पालना नगरेको भन्दै दाहाल-नेपाल पक्षले आरोप लगाएका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि