मंसिर ०७, २०८१, शुक्रबार
               

नेकपाका दुवै अध्यक्ष गुट भेलामा व्यस्त, नेपाल समूहकाे भूमिका के ?

नेपाल फ्ल्यास
कात्तिक २३, २०७७

ADVERTISEMENT

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आन्तरिक विवाद उत्कर्षमा पुगेपछि पार्टीका दुवै अध्यक्ष आ-आफ्नो गुट भेलामा व्यस्त बनेका छन् । पार्टीकाे बैठकलाई बेवास्ता गर्दै उनीहरु गुट भेलामा व्यस्त बनेका हुन् । पछिल्लाे हप्ता तल्लाे तहका नेताहरूदेखि सचिवालय सदस्यसम्मको अनौपचारिक भेलाकाे नाममा गुट बाक्लिँदै गएको हाे ।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल गुटले छुट्टाछुट्टै भेला, छलफलमार्फत् आफ्नो पक्षका नेतालाई सक्रिय बनाउने प्रयास गरिरहेका छन् ।

तीन गुटमध्येमा विषेशगरी ओली गुटले पछिल्लो समय निरन्तर आफू पक्षीय नेताको भेला गर्दै आएको छ । केही समयअघि पार्टीको सचिवालय तथा स्थायी कमिटी बैठक बोलाउनेबारेमा प्रचण्ड पक्षले लगातार गुट भेला गर्दै आएको थियो । त्यसप्रति आक्रोशित प्रधानमन्त्री ओली पछिल्लो समयमा आफैँ गुट भेलामा केन्द्रित छन् । पार्टी बैठक राख्न अनिच्छुक देखिएका ओलीले आफू पक्षका नेतालाई एकजुट राख्न यस्तो भेलामा प्रोत्साहन दिँदै आएका देखिन्छ।

पार्टीभित्र बहुमत पक्षले गुट चलाइरहेको आरोप लगाइरहेका ओली आफैँ गुटको बैठक राख्ने गतिविधिलाई तीव्रता दिँदै आएका छन् । शनिबारमात्रै ओली पक्षका नेता एक भेलामा जुटे । काठमाडौमा पूर्वएमाले पक्षका कार्यकर्ताको भेला वसुन्धरामा बसेको थियो । सो भेलालाई नेकपाका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्बोधन गरेका थिए ।

क्षेत्र नम्बर ५ को कार्यकर्ता भेला भनिए पनि उक्त भेलामा पूरै पूर्वएमाले सम्बद्ध नेता कार्यकर्ताको मात्र उपस्थिति थियो । नेकपाको काठमाडौं जिल्ला कमिटी अध्यक्ष कृष्ण राईसहित अन्य अगुवा कार्यकर्ता सो भेलामा सहभागी थिए । तर, वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता भने अनुपस्थित थिए ।

त्यस्तै, गत आइतबार ओली पक्षका नेता लाजिम्पाटमा भेला भएका थिए । उपप्रधानमन्त्री पोखरेल, नेता खगराज अधिकारी, महेश बस्नेत, केन्द्रीय सदस्य आनन्द पोखरेललगायत करिब १५ जना नेता भेलामा सहभागी थिए । पूर्वएमालेलाई एक बनाउन र नेपाल पक्षलाई फकाउने निष्कर्षसहित भेला टुंगिएको थियो ।

भोलिपल्ट सोमबार पनि ओली पक्षका नेताहरू मदन भण्डारी फाउन्डेसनको कार्यालय गौशालामा भेला भएका थिए । यस्तै ,गएको बुधबार प्रधानमन्त्री ओलीले प्रदेश–१ का आफूनिकट नेतासँग भर्चुअल बैठक गरेका थिए । मदन भण्डारी फाउन्डेसनको ब्यानरमा प्रधानमन्त्री ओलीले आफूनिकट नेतालाई संशोधन गरेका थिए । मदन भण्डारी फाउण्डेसनमार्फत् वडास्तरसम्म गठन गरी जनताको बहुदलीय जनवाद (जबज) बहसमा लैजान उनले निर्देशन दिएका थिए  ।

मदन भण्डारी फाउन्डेसनको कार्यक्रममार्फत् ओली पक्षले आफ्नो गुटलाई विस्तारित गर्ने र त्यसैलाई पार्टीजस्तो अगाडि बढाइरहेको उनीइतरका नेताहरूले आरोप लगाउँदै आएका छन् ।

सो बैठक गुटको भेला भएको भन्दै प्रचण्ड पक्ष तथा वरिष्ठ नेता नेपाल पक्ष असन्तुष्ट छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित सचिवालयका पाँच नेताले भर्चुअल बैठकबारे आपत्ति जनाएका थिए । तापनि ओली पक्ष निरन्तर गुट भेलामा छ । मदन भण्डारीले प्रतिपादन गरेको जबजलाई ब्यूँताएर ओलीले वरिष्ठ नेता नेपाल पक्षलाई आफूतिर तान्न खोजेको पनि धेरैले विश्लेषण गरेका छन् ।

गुट भेला जारी रहँदा प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाल समूहका नेतासँग छलफल सुरु गरेका छन् । आज आइतबार पनि प्रधानमन्त्री नेता नेपाल, सुरेन्द्र पाण्डे र रघुजी पन्तसँग छलफल गरेका हुन् ।

यसअघि शनिबार वरिष्ठ नेता नेपाल र प्रचण्ड गुटको संयुक्त सचिवालय सदस्यको छुट्टै बैठक बसेको थियो । सो बैठकले तत्काल सचिवालय बैठक बोलाउन ओलीसँग आग्रह गरेका थियो ।

तर, ओलीले सचिवालय बैठक नबोलाउने स्पष्ट पारेका छन् । ‘तपाईँहरू ममाथि गुटबन्दी गरिरहनुभएको छ,’ ओलीको भनाइ थियो, ‘म बैठक बोलाउँदिनँ ।’


कस्तो लाग्यो ?

यो पनि