काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्य प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
सचिवालयको बैठक बोलाउन माग गरिएको लिखित पत्रसहित कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु आज (शनिबार) बिहान सवा ११ बजे बालुवाटार गएका हुन् ।
अध्यक्ष प्रचण्डसहित सचिवालय सदस्यहरु वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ बालुवाटार पुगेका हुन् ।
यसअघि हिजो (शुक्रबार) कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालय बैठक बोलाएका थिए । त्यसमा प्रधानमनत्री केपी शर्मा ओली र उनी पक्षीय नेताहरु सहभागी भएका थिएनन् ।
उक्त अनौपचारिक बैठकले पार्टीको सचिवालय बैठक तत्काल बोलाउन अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग सामूहिक माग गर्ने निर्णय गरेको थियो ।
धुम्बाराहीमा सामूहिक छलफल
हिजोको अनौपचारिक सचिवालय बैठकमा प्रधानमन्त्री ओलीसँग आज बिहान ९ बजे भेटवार्ता गर्ने तय भएको थियो ।
तर, प्रधानमन्त्री ओलीले भेट गर्ने समय एक घण्टा पछाडि सारेपछि पाँच नेताहरु पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेर अनौपचारिक छलफल गरेका थिए ।
सोही अनौपचारिक छलफलमा पार्टीको सचिवालय बैठक बोलाउन माग गरेको पत्रसमेत तयार भएको नेकपा स्रोतले जानकारी दिएको छ ।