काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको पार्टी सचिवालयको अनौपचारिक बैठक सकिएको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा आज (शुक्रबार) भएको बैठकमा सहभागी भएका पाँच जना सचिवालय सदस्यले सो कमिटीको औपचारिक बैठक राख्नका लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आह्वान गर्ने निर्णय गरिएको छ ।
पाँचै जना सचिवालय सदस्यले ओलीलाई शनिबार भेटेर बैठक राख्न आग्रह गर्ने निर्णय गरी बैठक टुंगिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
बैठकमा प्रचण्डले सो अनौपचारिक बैठक पनि ओलीको समेत सहमतिमा गरिएको जानकारी गराएका थिए ।
प्रवक्ता श्रेष्ठका अनुसार औपचारिक बैठक राखेमा त्यही नै पार्टी फूटको बिन्दू हुने भनी ओलीले आफूलाई बताएका कारण अनौपचारिक बैठक राखिएको भनी प्रचण्डले सो बैठकमा अन्य नेताहरुलाई जानकारी गराएका थिए ।
बैठकबाट बाहिरिने क्रममा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी फुटाउन कसैले सोचेको भए त्यो अपराध हुने बताए ।
पार्टी फुट्ने स्थिति आए तपाइँ प्रचण्ड वा ओली कुन पक्षतर्फ हो भनी सञ्चारकर्मीले सोधेको प्रश्नमा नेता नेपालले भने, ‘म ओली वा प्रचण्ड कतैतिर होइन, म नेकपातिर हो ।’