जेठ ०६, २०८१, आइतबार
               

ओलीको योजना : बैठक सामना नगर्ने, शीर्ष तहमा पनि समझदारी नखोज्ने
अविश्वास प्रस्ताव ल्याउलान् त प्रचण्ड–नेपालले ?

श्यामसुन्दर पुडासैनी
कात्तिक २१, २०७७

ADVERTISEMENT

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक राख्न असहमति जनाएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र जारी शक्ति सङ्घर्ष झनै चर्किने देखिएको छ ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बैठक राख्न जोडबल गरिरहे पनि ओलीले अस्वीकार गरेपछि वर्तमान सङ्कट थप लम्बिने देखिएको छ ।

यसअघि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि प्रधानमन्त्री ओलीले बैठकको कुनै अर्थ नभएको र बैठक गरी बहुमतबाट कुनै निर्णय गरे पनि त्यसलाई आफूले नमान्ने भनेको सार्वजनिक रुपमा जानकारी गरेका थिए ।

राजदूत नियुक्ति र रिक्त तीन मन्त्रालयमा मन्त्री नियुक्तिमा एकलौटी गरेको, कर्णाली प्रदेशको विवाद चर्काउन भूमिका खेलेको विषयमा छलफल गर्न ओली इतर पक्षले बैठकको माग गर्दै आएको छ ।

साथै भारतीय गुप्तचर निकाय रअ प्रमुख सामन्त गोयललाई बोलाएर बालुवाटारमा छलफल गरेको, कोरोनाको रोकथाममा सरकार गम्भीर नबनेको लगायतका विषयमा ओलीप्रति प्रचण्ड–नेपालले असन्तुष्टि राख्दै आएका छन् । पार्टीको सचिवालय बैठक तथा स्थायी कमिटी बैठक राखेर यस विषयमा छलफल गर्न ओली इतर पक्षहरू चाहन्छन् ।

तर ओली बैठकको सामना गर्ने देखिएका छैनन् । शीर्ष तहमा समझदारी जुट्ने कुनै छाँटकाँट पनि छैन । दुवै पक्षले आआफ्ना रणनीति तय गर्दै अघि बढिरहेका छन् । ओली पक्ष बैठक कसरी टार्ने भन्ने रणनीतिमा छ भने प्रचण्ड–नेपाल पक्ष पार्टीको स्थायी कमिटी बैठक बोलाउन दबाब बढाइरहेका छन् । 

पाँच दिनपछि ओलीलाई भेट्न बिहीबार बालुवाटार पुगेका प्रचण्डलाई समेत ओलीले बरु शीर्ष तहमा समाधान खोज्ने बैठक भने बस्ने दोहोर्‍याए । पार्टी बैठक बोलाउने विषयमा छलफल गर्ने प्रस्ताव लिएर प्रचण्ड बालुवाटार पुगेका थिए । तर ओलीले बैठक राख्ने प्रस्ताव सिधै अस्वीकार गरेको प्रचण्ड निकट नेताहरु बताउँछन् ।

‘पहिला दुई अध्यक्षबीच सहमति नगरी पार्टी सचिवालयको बैठक तथा स्थायी कमिटी बैठक राखेर मात्र नहुने प्रधानमन्त्री ओलीको अडान थियो,’ प्रचण्ड निकट एक नेताले नेपाल फ्ल्याससँग भने ‘ प्रधानमन्त्री ओलीले भने दुई अध्यक्षको सहमति विना कुनै पनि बैठक बसेर नहुने जवाफ दिनुभयो ।’

पाँच दिनपछि बिहीबार बालुवाटार पुगेका प्रचण्डले ओलीसँग छिटोभन्दा छिटो सचिवालय बैठक राखेर छलफल गर्न आग्रह गरेका थिए । बैठकमा बस्न नचाहेपछि ओली सहमतिमा आउनै नचाहेको प्रचण्ड नेपाल पक्षको बुझाइ छ ।

आउँला त अविश्वासको प्रस्ताव ?

प्रधानमन्त्री ओलीले बैठक पनि राख्न नमान्ने तथा शीर्ष तहमा पनि सहमति खोज्न चासो नदेखाएपछि आजित प्रचण्ड नेपाल समूह भावी रणनीति बनाउन व्यस्त छ । बिहीबार पेरिसडाँडामा केही कानुन व्यवसायीसँग सो समूहले छलफल गरेका  थिए । सो छलफललाई ओली पक्षले अविश्वासको प्रस्ताव ल्याउनका लागि गरिएको तयारीका रुपमा बुझेका छन् । 

बालुवाटार स्रोत भन्छन् ‘आफू विरुद्धका विभिन्न योजनाहरूलाई अझ सुनियोजित ढङ्गबाट अघि बढाउनका लागि कानुन व्यवसायीसँगको छलफल गरिएको हुनसक्छ भन्ने बुझाइ छ ।’

नेपाल पक्षको रणनीति– केही दिन पर्ख, हेर

सहमति हुँदै नहुने अवस्था भयो भने चाहिँ पार्टी स्थायी कमिटीको बैठक बोलाइने नेपाल निकट केही नेताहरु बताउँछन् । प्रचण्ड–नेपाल पक्षका नेताहरूका अनुसार थप एक–दुई दिन पर्ख र हेरको रणनीति अपनाइने छ । त्यसपछि पनि बैठक बोलाउन ओली सहमत नभए कार्यकारी अध्यक्ष प्रचण्डले ने बैठक बोलाउने सम्भावना पनि रहेको बताइएको छ ।

बैठक नबस्दा विवाद झनै लम्बने वरिष्ठ नेता नेपाल निकट नेता भीम रावल भन्छन् ‘पार्टीलाई अनिणयको बन्दी बनाउन मिल्दैन, ठोस निर्णय लिनपर्छ । पार्टी एकता जोगाउन बैठक बस्नपर्छ ।’

 

 

ओलीलाई त्रास – ‘बहुमतले हटाउँछन् कि !’

ओलीले बैठक राख्न नमानेमा अन्ततः बहुमतको सदस्यको बैठक बोलाएर हटाउनेसम्मको योजना प्रचण्ड–नेपाल मिलेर बनाइएको हुनसक्ने ओली पक्षको बुझाइ छ ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकमा पनि ओलीले यस्तै आशङ्का गरेका एक मन्त्रीले नेपाल फ्ल्यासलाई बताए ।

बिहीबार साँझ ओलीले आफूनिकट स्थायी कमिटी सदस्यहरूसहित केही नेतासँग बालुवाटारमा अर्को पक्षका गतिविधिप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका थिए ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि