बैशाख १३, २०८१, बिहीबार
               

भारतीय स्थलसेनाध्यक्षको नेपाल भ्रमण परम्पराको निरन्तरता हो: नेपाली सेना

रासस
कात्तिक १६, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणेको आगामी बुधबारदेखि हुने नेपाल भ्रमणलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले परम्परागत निरन्तरता भनी स्पष्ट पारेका छन् । 

यसका अलवा भारतीय सेनाध्यक्षको भ्रमणका सन्दर्भमा नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले‍ भ्रमण मुख्य रुपमा परम्पराको निरन्तरता भएको बताएका छन् । यसका अलवा उनले दुई देशका सेनाबीचको सम्बन्धलाई थप सुदृढीकरण गर्ने मुख्य उद्देश्य रहेको बताए । 

नेपाल भ्रमणको पहिलो दिन कुनै औपचारिक कार्यक्रम नभए पनि दोस्रो दिन उनले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ । त्यसलगतै सैनिक मुख्यालय जङ्गी अड्डामा उनले सैनिक गारत निरीक्षण गर्ने कार्यक्रम तय भएको छ । 

सोही दिन प्रधानसेनापति थापाले आफ्ना समकक्षी स्थलसेनाध्यक्ष जनरल नरावणेसँग  औपचारिक भेटवार्ता गर्नेछन् । सेनाका पिएसओज र रथीवृन्दसँग भेटघाट र छलफलको कार्यक्रम तय भएको छ । सोही अवसरमा दुई देशबीचको सुरक्षा सहयोगसँग सम्बन्धित तेह्रौं दुई बैठकको सहमतिअनुरुप एम्बुलेन्सलगायत स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रम छ । 

राष्ट्रपति विद्यादेवी भण्डारी भ्रमणको दोस्रो दिन जनरल नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नेछन् । नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशको सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा रही आएको छ । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरावणेले १८औँ सेनापति हुन् । जङ्गी अड्डाबाट प्राप्त अभिलेखअनुसार सन् १९५० मा भारतीय सेनाअध्यक्ष केएम परिअप्पालाई पहिलोपटक मानार्थ महारथीको दर्जा प्रदान गरिएको थियो ।

नेपालका तर्फबाट प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले विसं २०२६ मा भारतीय सेनाको मानार्थ महारथी प्राप्त गर्नुभएको उक्त अभिलेखमा उल्लेख छ । भारतीय सेनाको मानार्थ महारथीको दज्र्यानी प्राप्त गर्ने वर्तमान प्रधानसेनापति थापा १४ औं सेनापति हुन् ।

सोही अवसरमा राष्ट्रपतिसँग उनको भेटवार्ता हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । सोही दिन भारतीय सेनाध्यक्षको सम्मानमा जङ्गी अड्डामा रात्री भोज आयोजना हुनेछ । भ्रमणको तेस्रो दिन उनी शिवपुरीस्थित आर्मी कमाण्ड एन्ड स्टाफ कलेजमा आयोजना हुने शिक्षार्थीसँगको अन्तरक्रियामा सहभागी हुनेछन् ।

रक्षामन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्थलसेनाध्यक्ष  नरावणेले सोही दिन औपचारिक भेटवार्ता गर्नु हुनेछ । नेपालको तीन दिवसीय भ्रमण पूरा गरी जनरल नरवणे शुक्रबार स्वदेश फर्कनेछन् ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि