काठमाडौं । नागरिक अगुवाको एक समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेटप्रति आपत्ति जनाएको छ ।
शनिबार एक अपिल प्रकाशित गर्दै नागरिक अगुवाले विदेशी जासुसी विभागका प्रमुखलाई प्रधानमन्त्रीले रातिको समयमा आफ्नै सरकारी निवासमा भेट्नुलाई नजायज भएको बताएका छन् ।
‘प्रधानमन्त्रीले आफ्नो देशका उपयुक्त तहका अधिकारीहरूसँग भेट्न लगाएर अन्त्यमा शिष्टाचार भेट दिन आवश्यक भए सम्बद्ध सरकारी अधिकारीसहित शिष्टाचार भेट हुनुपर्नेमा सोझै जासुसी विभागका प्रमुखसँग भेट गर्नुलाई त्यो पनि जुन समयमा जहाँ, जति समय देशको कार्यकारीले भेट गर्नुभयो त्यसलाई जसरी प्रतिरक्षा गरे पनि कुनै पनि हालतमा जायज मान्न सकिंदैन,’ अपिलमा भनिएको छ ।
विदेशी मुलुकको गुप्तचर प्रमुखसँग परराष्ट्र मन्त्रालयलाई औपचारिक रूपमा संलग्न नगराई देशको सर्बोच्च कार्यकारी प्रमुख प्रधानमन्त्री आफैँले मध्यरातसम्म घण्टौं गरेको गोप्य वार्तालाई शिष्टाचार भेट भन्न नसकिने उनीहरुको भनाइ छ ।
रअले नेपाललगायत अरू मुलुकको अन्तरिक राजनीतिमा अवाञ्छित चलखेल गर्दै अक्सर विवादास्पद भूमिका निर्वाह गरिरहेको उनीहरुको भनाइ छ ।
नागरिक अगुवाहरुले यस्ता संस्थाका प्रमुखसँग कुनै पदाधिकारी वा नेताबाट गैरकुटनैतिक भेटघाट भएमा निरुत्साहित र नियन्त्रित गर्नुपर्नेमा मुलुकको सर्वोच्च कार्यकारी प्रमुख आफैँले भेटघाट गर्नु कूटनैतिक आचारसंहिताविपरीत हुने बताएका छन् ।
नागरिक अगुवाहरुले ‘रअ’ प्रमुखको यो भ्रमणको एजेण्डा के थियो, कसले आमन्त्रण गरेका थिए या कुनै आमन्त्रणबिनाको उनको आगमन हो, प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरिएको हो भने सारभूत वार्ता को-कोसँग र कुन-कुन विषयमा गरियो, प्रचलित कूटनीतिक कार्यविधि अनुसारको कुटनैतिक पदाधिकारीसँग भेट गर्न किन उपयुक्त ठानिएन र गुप्तचर निकायसंग नेपालले एकदमै अपर्झट कुरा गर्नुपर्ने विषय के थियो भनी प्रश्न पनि गरेका छन् ।