जेठ ०४, २०८१, शुक्रबार
               

रअका प्रमुखसँग प्रचण्डको भेट भएको छैन : प्रचण्ड सचिवायल

नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । बुधबार दिउँसो एक्कासि नेपाल आएका  भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल बिहीबार भारत फर्केका छन् । 

उनी फर्केसँगै नेपाली राजनीति भने फरक किसिमले तरंगित बनेको छ । तर, सत्तारुढ नेकपाकै सचिवालयका नेताहरु गुप्तचर प्रमुखको भ्रमणबारे आफूहरु अन्योलमा रहेको जानकारी दिए ।

सत्तारुढ दलका अर्का अध्यक्ष प्रचण्डको सचिवालयले रअ का प्रमुख नेपाल आएको कुरामा अध्यक्ष प्रचण्ड अन्योलमा रहेको जानकारी दिएको छ । तर,  प्रचण्ड र रअका प्रमुखबीच भेटघाट भएको बाहिर आएको छ । यद्यपि यो विषयमा प्रचण्डको निजी सचिवालयका प्रेस संयोजक विष्णु सापकोटा जुगलले प्रेस नोट नै जारी गर्दै प्रचण्ड र रअ का प्रमुखबीच भेट भएको भनी भ्रममा नपर्न आग्रह गरेका छन् ।

रअका प्रमुख गोयल र प्रचण्डवीच भेट भएको भन्ने कतिपय सञ्चार माध्यममा आएको समाचारको खण्डन गर्ने सापकोटाले भनेका छन्, ‘सम्वेदनशील विषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपील गर्दछु ।’

त्यसैगरी, अध्यक्ष दाहालले पनि आफूले रअ का प्रमुख नेपाल आएका हुन वा होइनन् भनी बुझिरहेको प्रतिक्रिया दिइरहेका छन् । तर, उनले यस्तो प्रतिक्रिया दिइरहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भने भारतीय गुप्तचरका रअ नेपाल आएका र उनी  विमानस्थलमा देखा परेको जानकारी दिएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा स्रोतका अनुसार  उनी आइएफबी ६०४५ कल साइनको चार्टर्ड उडानबाट स्वदेश फर्किएका छन् ।

पछिल्लो समय भारतसँग सीमा विवाद चर्कंदै गएका बेला नेकपाको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले  पनि नेपाल सरकारलाई नक्सा  जारी गर्नु सहयोग गरेका थिए । पार्टीको सो निर्णयपछि सरकारले नक्सा जारी गरेको थियो । तर, पार्टीभित्र अन्तरविरोध बढ्दै जाँदा ओली पक्षका कार्यकर्ताले प्रचण्डलाई ‘भारतीय दलाल’ समेत भनी आरोप लाग्ने गरेको छ । प्रचण्डलाई यस्तो आरोप लागिरहेका बेला भारतीय गुप्तचर रअका प्रमुखसँग गोप्य भेट भएको बाहिरिनु र उनी र उनको सचिवालयले अन्योलता प्रकट गर्नुले रअका प्रमुखको गोप्य भ्रमण र प्रचण्डबीच केही तादात्मय छ कि भनी आकलन  गर्न थालिएको छ । 

नेपालको राजनीतिमा भारतको उपस्थित हुन्छ भन्ने आरोप लाग्दै आएको छ । यही आरोपका कारण पनि उनको यो भ्रमणलाई नेपाली राजनीतिमा निकै महत्वका साथ हेरिएको छ ।

पछिल्लो समय भारतले नेपाल चीनतिर लहसियो भनी  आरोप लगाउनु, सीमालगायत विषयले भारत-नेपाल सम्बन्धमा पहिले भन्दा केही फरक महसुस गरिरहेका बेला उनको यो गोप्य भ्रमणले नेपाली राजनीतिमा कौतुहलता बढाएको छ । 

यो पनि