काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि (मंगलबार) बस्ने भएको छ ।
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज (सोमबार) छलफल भएको थियो ।
दुई अध्यक्षबीचको छलफलपछि भोलिका लागि सचिवालय बैठक बोलाउने सहमति भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
दुई अध्यक्षबीच मन्त्रिपरिषद् पुनर्गठन, पार्टी एकीकरणका बाँकी काम, सरकारका गतिविधि लगायतका विषयमा छलफल भएको बताइएको छ ।
भोलिको सचिवालय बैठकमा पनि यिनै विषय तथा पछिल्लो समय सरकारले गरेको राजनीतिक नियुक्तबारे छलफल हुने छ ।
यसअघि आइतबारका लागि तय भएको सचिवालय बैठक स्थगित भएको थियो ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका चार सदस्य र ७६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित गरिएको थियो ।