बुटवल । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ५ को संसदीय दलले प्रदेशको राजधानी दाङ राख्ने प्रस्तावमा मतदान गर्न सांसदहरुलाई ह्विप जारी गरेको छ।
मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको नेकपा संसदीय दलको बैठकले दाङ राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गर्दै नेकपा सांसदहरुलाई सो प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएको हो ।
'मुख्यमन्त्री शंकर पोखरेलले प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गर्नुभएको छ', नेकपाको प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालले भने ।
'दाङको भालुवाङलाई प्रशासनिक राजधानी र बुटवललाई आर्थिक तथा पर्यटकीय राजधानी बनाउने गरी विकास गर्ने लक्ष्यका साथ यो प्रस्ताव आएको छ', ढकालले भने, 'आजको संसदीय दलले यसका पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।'
बुटवलमा रहेको अस्थायी राजधानी सारेर दाङको भालुवाङ लग्ने निर्णय भएपछि नेपाली कांग्रेस, अन्य विपक्षी दल लगायतले बुटवलमा आन्दोलन गर्दै आएका छन् ।
आन्दोलनलाई मध्यनजर गर्दै अहिले बुटवल र आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ ।