बैशाख ०६, २०८१, बिहीबार
               

न्यायपालिका सुधारको चासो र सुझाव सम्बोधन हुँदै : प्रधानन्यायाधीश राणा

नेपाल फ्ल्यास
असोज ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र सम्सेर राणाले न्यायपालिकामा सुधारको लागि व्यक्त चासोहरू सम्बोधनका लागि पहलकदमी भएको जनाएका छन् ।

संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै राणाले भनेका छन्- न्यायपालिकाको सुधारको विषयमा व्यक्त चासो, सरोकार र समसामयिक सुझावहरूलाई ग्रहण गर्दै सम्बोधनका लागि उपयुक्त पहलकदमी भएका छन् ।

उनले न्यायपालिकाका कामकारबाही एवम् सुधारका प्रयासहरूप्रति विश्वस्त हुन आग्रह पनि गरेका छन् । उनले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै भरोसायोग्य न्यायप्रणालीको स्थापना र संविधानको कार्यान्वयनमा प्रतिबद्धतासमेत जनाएका छन् ।

प्रधानन्यायाधीशले संविधानलाई राज्य सञ्चालनको कानुनी दस्ताबेज मात्र नभएर जनताको जीवन पद्धतिको रूपमा लिनुपर्ने मान्यताको विकास भएको उल्लेख गरेका छन् । उनले लामो समयदेखिको विकास र समृद्धिप्रतिको अभिलाषा पूरा गर्न एवम् सुशासनको अनुभूति दिलाउन राज्यका सबै निकायहरूले आ–आफ्नो तहबाट योगदान गर्न सक्नुपर्ने जनाएका छन् ।

यस्तो छ संविधान दिवस, २०७७ को उपलक्ष्यमा प्रधानन्यायाधीशको शुभकामना सन्देश

संविधान दिवस, २०७७ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । ऐतिहासिक संविधानसभाबाट निर्माण भई २०७२ साल असोज ३ गते अर्थात् आजकै दिन जारी भएको नेपालको संविधान कार्यान्वयनको पाँचौँ वर्ष पूरा भएको छ । आफ्ना लागि आफैँले संविधान निर्माण गर्ने नेपाली जनताको लामो समयदेखिको चाहना साकार भएको दिनको सम्झना र सम्मानमा आजको यस विशेष दिनलाई संविधान दिवस अर्थात् राष्ट्रिय पर्वको रूपमा हामीले मनाउँदै आएका छौँ । संविधानसभाबाट संविधान निर्माण हुने अवस्थासम्म ल्याउन र निर्माणको प्रक्रियामा आ–आफ्ना तहबाट भूमिका निर्वाह गर्नुहुने सम्बद्ध सबैको योगदानको आजको यस विशेष अवसरमा हार्दिकतापूर्वक स्मरणसमेत गर्न चाहन्छु ।

नेपालको संविधान संवैधानिक परिवर्तनको दस्ताबेज मात्र नभई लामो समयदेखिको राज्यको संरचना, शासकीय व्यवस्था र सामाजिक, सांस्कृतिक रूपान्तरणको आधारस्तम्भ पनि हो । यस संविधानले जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली,नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनीराज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य तथा मान्यतालाई संविधानको आधारभूत संरचनाको रूपमा स्थापित गरेको छ । संविधानवाद्, समानता र न्यायलाई संविधानले मूल यसको आत्माको रूपमा ग्रहण गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने एवम् सामाजिक न्यायको सुनिश्चितता गर्ने उद्देश्य संविधानले लिएको छ ।

संविधानलाई राज्य सञ्चालनको कानुनी दस्ताबेज मात्र नभएर जनताको जीवन पद्धतिको रूपमा लिनुपर्ने मान्यताको विकास भएको छ । संविधानको प्रभावकारी कार्यान्वयन तथा नेपालको संविधानले प्रत्याभूत गरेका हक अधिकारको सुनिश्चितता गर्दै आम नागरिकको लामो समयदेखिको विकास र समृद्धिप्रतिको अभिलाषा पूरा गर्न एवम् सुशासनको अनुभूति दिलाउन राज्यका सबै निकायहरूले आ–आफ्नो तहबाट योगदान गर्न सक्नुपर्दछ । आजको विशेष दिनमा हामी सबैले गर्नुपर्ने प्रण पनि त्यही नै हो भन्ने मलाई लाग्दछ ।

नेपालको संविधानले सुम्पिएको जिम्मेवारी र भूमिकाप्रति संवेदनशील हुँदै छिटोछरितो एवम् प्रभावकारी न्याय सम्पादनको माध्यमबाट सबैलाई न्याय सुनिश्चित गर्न न्यायपालिका सदैव क्रियाशील रहँदै आएको छ । न्यायपालिकाको सुधारको विषयमा व्यक्त चासो, सरोकार र समसामयिक सुझावहरूलाई ग्रहण गर्दै सम्बोधनका लागि उपयुक्त पहलकदमी भएका छन् । न्यायपालिकाका काम कारबाही एवम् सुधारका प्रयासहरूप्रति विश्वस्त हुन पनि म सबैमा हार्दिक आग्रह गर्दछु । साथै, आजको यस विशेष अवसरमा नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै भरोसायोग्य न्यायप्रणालीको स्थापना र संविधानको कार्यान्वयनमा आफ्नो स्पष्ट प्रतिबद्धतासमेत व्यक्त गर्दछु ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को कारण लामो समयदेखि हामीले कठिन परिस्थितिको सामना गरिरहेका छौँ । न्यायपालिकालगायत राज्यका सबै अङ्ग र निकायहरूका काम कारबाहीहरू यसबाट प्रभावित भएका छन् । आम नागरिकका संविधानप्रदत्त हक अधिकार र आधारभूत सुविधाको प्राप्ति एवम् न्यायको पहुँचमा कठिनाइ उत्पन्न भएको छ । यस प्रकारको विषम परिस्थितिमा नयाँ आशा, नयाँ क्षितिज र अवसरको खोजी गर्दै संविधानको कार्यान्वयन गर्नुपर्ने दायित्व हाम्रा सामु छ । राज्यका सबै निकायहरूको त्यसतर्फको क्रियाशीलता, आपसी विश्वास, समन्वय र सहकार्यबाट नै आमनागरिकमा विश्वास र भरोसा जागृत हुन सक्दछ । आजको विशेष दिनले हामी सबैमा त्यस किसिमको ऊर्जा, हौसला र प्रेरणा प्रदान गर्ने छ भन्ने विश्वासका साथ संविधान दिवसको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

चोलेन्द्र शम्शेर ज.ब.रा.

प्रधानन्यायाधीश

असोज ३, २०७७

हेर्नुस् भिडियो सन्देश

यो पनि