जेठ ०६, २०८१, आइतबार
               

संविधान दिवसलाई समर्थन गर्ने कि विरोध गर्ने भन्नेमा जसपामा अन्योल

नेपाल फ्ल्यास
असोज ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालको संविधान जारी भएको असोज ३ गतेलाई ‘कालो दिवस’ तथा विरोध दिवसको  रूपमा मनाउँदै आएको तराई मधेस केन्द्रित दलहरूले यसवर्ष के गर्ने भन्नेमा अझै अन्योलमा छन् ।

विगतमा कालो दिनको रुपमा मनाउँदे आएका उनीहरूले गतसाल भाषा परिवर्तन गर्दै विरोध दिवसका रूपमा मनाएका थिए । तर यसबर्ष भने संविधान दिवसको पूर्वसन्ध्यामा उनीहरूले कुनै निर्णय गर्न सकेका छैनन् ।

संघीय सरकारले संविधान दिवस मनाउनका लागि सबै तयारी पूरा गरिसकेको छ । तर प्रदेश २ सरकारको नेतृत्व गर्दै आएको जनता समाजवादी पार्टी जसपा नेपालले भने असोज ३ गतेलाई कसरी मनाउने हो भन्नेमा अन्योल देखिएको छ ।

नेपालको संविधान २०७२ प्रति असन्तुष्टि जनाउँदै आएका तत्कालीन मधेसवादी दलहरूसहित विभिन्न राजनीतिक शक्ति मिलेर अहिले जसपा नेपाल नामक राजनीतिक दल बनेको छ । विभिन्न राजनीतिक शक्तिबीच एकीकरण भएर बनेको सो पार्टीका केही राजनीतिक हाँगाले विगतमा असोज ३ लाई कालो दिवस तथा विरोध दिवसका रुपमा मनाउने गरेका थिए । केहीले तटस्थ रहने र केहीले संविधान अपुरो रहेको बताए पनि त्यसको स्वामित्व लिँदै आएका थिए । त्यसैले पनि यसपटक जसपा नेपालले संविधान दिवसलाई कसरी मनाउने हो भन्नेबारे चासो बढेको छ ।

‘संविधान संशोधनका मुद्दा सम्बोधन नभएका कारण हामीले विगतमा संविधान जारी भएको मिति असोज ३ गतेलाई कालो दिवसका रूपमा मनाउँदै आएकोमा त्यसलाई निरन्तरता दिँदै गत सालदेखि विरोध दिवसका रूपमा मनाउँदै आएका थियौँ, यो साल पनि त्यसैलाई निरन्तरता दिने तयारी छ,’ सो पार्टीका नेता केशव झाले बताए ।

संविधान संशोधनका लागि आफूहरूले सरकारलाई दवाव दिइरहेको र आफ्ना माग पनि यथावत रहेको उनले प्रष्ट पारे । संविधान जारी भएपछि मधेस आन्दोलनमा होमिएका राजनीतिक शक्तिमात्र नभइ संविधान निर्माणमा सहभागी डा.बाबुराम भट्टराई लगायतको राजनीतिक समूह पनि जसपा नेपालमै छन् । यस कारण यसपाली संविधान दिवसका दिन सो पार्टी जे गरे पनि अर्थपूर्ण बन्ने छ ।

समाजवादी पार्टीसँग एकीकरण गरेको राष्ट्रिय जनता पार्टी राजपा नेपालले भने यसअघि प्रत्येक असोज ३ का दिन कालो दिवस मनाएको छ । तर समाजवादी पार्टी भने मौन थियो । किनकि उ प्रदेश २ सरकारको नेतृत्वमा थियो । यता संघीय सरकारमा पनि उसको सहभागिता थियो । यसपटक भने सो दल संघीय सरकारमा छैन । मधेश केन्द्रित दुई ठूला दल एक भएका छन् । तर यसपटक के गर्ने भन्नेमा ती दलका नेताहरू पनि अन्योलमा छन् ।

विगतमा संविधान दिवस उत्साहपूर्वक नमनाएको प्रदेश २ सरकारले यसपटक कार्यक्रम नगर्ने देखिएको छ । प्रदेश २ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले कालो दिवस नमनाउने तर संघीय सरकारले गरेको निर्णय जस्तो उत्साहपूर्वक पनि संविधान दिवस नमाउने बताए । आफूहरूको माग अनुसार संविधान संशोधन नगरेका कारण धुमधामका साथ संविधान दिवस नमनाउने उनको भनाइ छ ।

२०७२ असोज ३ गते संविधान जारी हुँदा तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल आन्दोलनमा थियो । मधेशमा आन्दोलन चलिरहेकै बीचमा संविधान जारी भयो । भाषा नागरिकतालगायतका विभिन्न विषयमा आफूहरूको माग पुरा नभएको भन्दै मधेश केन्द्रित दलहरूले संविधानका केही प्रावधानमा असहमति राख्दै आएका छन् ।


कस्तो लाग्यो ?

यो पनि