बैशाख २५, २०८१, मंगलबार
               

भ्रष्टाचार र सर्वसत्तावादका कारण मुलुक दुर्घटनाउन्मुख : अध्यक्ष थापा

नेपाल फ्ल्यास
असोज ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भ्रष्टाचार र सर्वसत्तावादका कारण मुलुक दुर्घटनाउन्मुख भएको बताएका छन् ।

उनले मुलुकमा धर्म परिवर्तन बढेकोले दुर्घटनाको जोखिम झनै देखिएको बताएका छन् । अध्यक्ष थापाले सर्वसत्तावादी प्रवृत्ति, भ्रष्टाचार र धर्म परिवर्तनविरुद्ध लाग्न पार्टीका जिल्ला अध्यक्षहरूलाई निर्देशनसमेत दिएका छन् ।

जिल्ला अध्यक्षहरूसँग आज बिहीबार भर्चुअल बैठक गर्दै उनले ती प्रवृत्ति रोक्न राप्रपाको विकल्प नभएको सन्देश जनतामाझ पुर्‍याउन थापाले आग्रह गरेको केन्द्रीय सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।

राप्रपा अध्यक्ष थापाले पछिल्ला दिनमा प्रविधिको प्रयोग गर्दै देशभरका नेता-कार्यकर्ताहरूसँग संवाद गर्दै आएका छन् । उनले केही दिनअघि केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए ।

अध्यक्ष थापाले आजको संवादमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको आन्तरिक अवस्था एवं भावी कार्ययोजना, कोरोनाको प्रभाव र पार्टी एकताको विषयमा बैठकमा सहभागी अध्यक्षहरूलाई जानकारी गराएका थिए ।

मुलुकमा राप्रपाले बोकेको एजेन्डाको आवश्यकता र औचित्य दिन प्रतिदिन बढिरहेको सन्दर्भमा पार्टीलाई जबरजस्त ढंगबाट स्थापित गर्नुको विकल्प नरहेको उनले बताएका थिए । थापाले जनताबाट अनुमोदित भएर आउन संगठन निर्माणमा केन्द्रित हुन जोड दिएका थिए ।

प्रजातन्त्रलाई मजबुत बनाउन फरक विचार बोक्ने शक्ति बलियो हुनुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष थापाले राप्रपालाई सशक्त राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रूपमा रूपान्तरण गर्नुपर्ने बताए ।

जिल्ला अध्यक्षहरूले स्पष्ट विचार र अलग पहिचानसहितको दललाई राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी र निर्णायक बनाउन जिल्ला जिल्लामा जनपरिचालन गर्न जोड दिएका थिए । बैठकमा ५१ जिल्लाका अध्यक्षहरू सहभागी थिए ।


कस्तो लाग्यो ?

यो पनि