बैशाख २२, २०८१, शनिबार
               

आन्तरिक उडानमा भाडा घट्ने, यात्रुलाई प्रतिबन्ध लगाइएका विषयहरू यस्ता छन्

नेपाल फ्ल्यास
भदौ ३०, २०७७

ADVERTISEMENT

यात्रुहरू पहिलेजस्तै खुल्ला रूपले आउजाउ गर्न पाउनेछैनन् । स्वास्थ्य सुरक्षा मापदण्ड नेपाल नागरिक उड्डयन प्राधिकरण, सबै विमानस्थल र सबै एयरलाइन्सले निर्माण गरिसकेका छन् ।

असोज १ गतेदेखि खुल्न लागेको आन्तरिक उडानको भाडा घट्ने भएको छ । आन्तरिक उडानमा ठूलो हिस्सा भएको बुद्ध एयरलगायतले अहिले भाडा घट्ने बताइसकेको छ । बुद्ध एयरले बुकिङ समेत खुल्ला गरिसकेको छ । चाडपर्वलाई लक्षित गर्दै कोभिडको जोखिम भए पनि आन्तरिक उडान खुला गरिएको हो । आन्तरिक उडान खुल्ला भए पनि सबैले स्वास्थ्य सुरक्षा विधि भने पालना गर्नुपर्नेछ ।

विमानस्थलका एक उच्च अधिकारीले भने ‘यात्रुहरू पहिलेजस्तै खुल्ला रूपले आउजाउ गर्न पाउनेछैनन् । स्वास्थ्य सुरक्षा मापदण्ड नेपाल नागरिक उड्डयन प्राधिकरण, सबै विमानस्थल र सबै एयरलाइन्सले निर्माण गरिसकेका छन् ।’

स्वास्थ्य सुरक्षा प्रोटोकलअनुसार यात्रु एयरपोर्ट जानु पहिले २–३ वटा कुरा पालना गर्नुपर्ने हुन्छ । अनिवार्य मास्क लगाएर आउनुपर्ने हुन्छ । एयरपोर्ट पुर्‍याउन र लिन जानको लागि रोक लगाइएको छ ।

एयरलाइन्सहरूले ७० वर्ष उमेर कटेका वृद्ध र गर्भवती महिला, दीर्घकालीन रोग लागेका व्यक्तिलाई सकेसम्म नहिँड्न आग्रह गरेका छन् । यस्ता व्यक्तिमा कोरोना संक्रमण छिटो फैलिन सक्ने हुँदा उनीहरूलाई यात्राको लागि निरुत्साहित गर्न खोजिएको बताइएको छ ।

जहाजमार्फत यात्रा गर्नेले आफूसँग जगेडा मास्क, स्यानिटाइजर, रुमाल वा टावेल आफैँ बोकेर आउनुपर्नेछ । एयरपोर्टमा यात्रुको ज्वरो नापिन्छ । यात्रुलाई ह्यान्ड स्यानिटाइजर गर्न लगाइन्छ । त्यस्तै यात्रुले सामाजिक दूरी पनि कायम राख्नुपर्नेछ । एयरपोर्टमा फर्म भर्नुपर्ने हुँदा यात्रुले कलम आफैँले बोक्नुपर्ने हुन्छ ।  

एयरलाइन्सहरूका कर्मचारीसँग यात्रुले सिधा सम्पर्क गर्नुपर्ने हुँदा सिसाको प्रयोग गरिएको छ । आफ्नो डकुमेन्ट देखाउँदा सिसाबाहिरबाटै देखाउने व्यवस्था मिलाइएको छ । त्रिभुवन विमानस्थलबाट विभिन्न गन्तव्यमा जाने यात्रुलाई गाडी चढ्नु पूर्व फेस भाइजर प्रयोग गर्न दिइनेछ ।
एयरलाइन्सहरूले प्रत्येक पटक यात्रु बोकेको बसलाई निस्संक्रमणको काम गर्नुपर्ने हुन्छ।

एयरलाइन्सले जहाजमा यात्रु चढाउनु पूर्व र यात्रुको लगेज समेत निस्संक्रमणयुक्त गर्नुपर्छ । विमानस्थल तथा एयरलाइन्सहरूले यात्रुलाई सकेसम्म ब्यागेजको प्रयोग कम गर्न आग्रह गरेका छन् ।

जहाजभित्र यात्रुलाई खाने, पत्रिका पढ्नेलगायतका सेवा बन्द गरिएको छ । जहाजभित्र ट्वाइलेट प्रयोग नगर्न समेत भनिएको छ । अत्यावश्यक अवस्थामा मात्रै यात्रुले ट्वाइलेट प्रयोग गर्न पाउनेछन् । जहाजभित्र एयर होस्टेस फुल पिपिईसहित बसेका हुन्छन् । यात्रुलाई मध्यम खालको ह्यान्डल ब्याग लैजान रोक लगाइएको छ । 

काखमा राख्न मिल्ने वा हातमै समाउने सानो ब्याग भने यात्रुले प्रयोग गर्न पाउनेछन् । तर क्याबिनमा राख्नुपर्ने ब्याग प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ। प्राधिकरण, एयरपोर्ट, एयरलाइन्सले प्रोटोकल पालना भयो भएन भन्नको लागि सबै एयरपोर्टमा अनुगमन समितिको व्यवस्था गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि