जेठ ०३, २०८१, बिहीबार
               

राप्रपा अध्यक्ष थापा कार्यकर्तासँग भर्चुअल मिटिङमा व्यस्त

नेपाल फ्ल्यास
भदौ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । राप्रपा र राप्रपा प्रजातान्त्रिकको एकीकरणपछि देखिएको चुनाव चिन्हलगायतको प्रक्रियागत गाँठो फुकाउन राप्रपा अध्यक्ष कमल थापा अगुवा कार्यकर्ताहरूसँग छलफलमा जुटेका छन् ।

कोभिड १९ को महामारीका कारण राजनीतिक गतिविधि ठप्प प्रायः भएको समयमा अध्यक्ष थापाले देशव्यापी रूपमा नेता कार्यकर्ताहरूसँग भर्चुअल बैठक थालेका हुन् ।

बैठकमा कोभिड १९ को प्रभाव र बढ्दो संकट, मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी एकता र भावी योजनाका बारेमा छलफल गरिएको छ । अध्यक्ष थापाले राप्रपालाई मुलुकको बलियो वैकल्पिक शक्ति बनाउन क्रियाशील हुन नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै थापाले भ्रष्टाचार, धर्म परिवर्तन र सर्वसत्तावाद अहिलेको डरलाग्दो समस्या भएको जनाएका छन् । मुलुकलाई समृद्धिको दिशामा लैजानको निमित्त राप्रपाले अवलम्बन गरेको मार्गचित्रबाट मात्र सम्भव हुने दाबी पनि उनले गरेका छन् ।

झन्डै दुई तिहाइको बहुमतप्राप्त सरकार जनताको नजरमा दिन प्रतिदिन असक्षम साबित हुँदै गएको र नेपाली काँग्रेस प्रमुख प्रतिपक्षको भूमिकाबाट प्रभावहीन देखिएकोले राप्रपाले आगामी दिनमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न संगठन केन्द्रित हुन अध्यक्ष थापाले कार्यकर्तालाई निर्देशन दिएको राप्रपा केन्द्रीय सचिवालयका सदस्य राजाराज बर्तौलाले जानकारी दिए । थापाले पार्टी एकतालाई निष्कर्षमा पुर्‍याएर देशव्यापी सकारात्मक सन्देश प्रवाह गर्न आफूले भरमग्दुर प्रयास गरिरहेको र हदैसम्म लचकता प्रदर्शन गरेको सन्देश कार्यकर्तामाझ प्रवाहित गरेका छन् ।

भर्चुअल बैठक प्रदेश, जिल्ला, क्षेत्र र जनवर्गीय संगठनको तहसम्म निरन्तर जारी राख्ने योजना छ । बैठकमा सहभागी अगुवा कार्यकर्ताहरूले पार्टी एकता आवश्यक भएकोले सिद्धान्त र विचारमा सम्झौता नगरी एकता प्रक्रियालाई टुंगोमा पुर्‍याउन सुझाव दिएको जानकारी दिइएको छ ।


कस्तो लाग्यो ?

यो पनि