जेठ ०५, २०८१, शनिबार
               

मन्त्री घिमिरेको दोस्रो परीक्षणमा पनि कोरोना रिपोर्ट पोजेटिभ नै

नेपाल फ्ल्यास
भदौ २६, २०७७

ADVERTISEMENT

विराटनगर । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेको दोस्रोपटक गरिएको पिसिआर रिपोर्ट पुनः पोजेटिभ आएको छ । मन्त्री घिमिरेका प्रमुख स्वकीय सचिव तिलकबहादुर बस्नेतका अनुसार दुईसातापछि बिहीबार गरिएको स्वाब नमुना परीक्षणको रिपोर्ट शुक्रबार पोजिटिभ आएको हो ।

प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा मन्त्री घिमिरेको रिपोर्ट पोजिटिभ आएको हो । बस्नेतका अनुसार स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र कोरोनाका लक्षणहरु हराउँदै गए पनि पुन: परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको हो ।

रुघाखोकी, शरीर दुख्ने लक्षण बाहेक डाईरिया, टाउको दुख्ने, ज्वरो जस्ता समस्या समाधान हुँदै गएको बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार मन्त्री घिमिरेको रक्तचाप र अक्सिजनको मात्रा सामान्य छ । मन्त्री घिमिरेलाई भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि हुनुअघि देखि नै उनलाई सामान्य लक्षणहरु देखिएपछि भदौ १३ गते साँझदेखि होम आइसोलेसनमा रहेका थिए ।आइसोलेसनमा रहेका मन्त्री घिमिरे बिहान नियमित योगा र ध्यान गर्ने गर्छन् । उनले केही आयुर्वेदिक औषधिसमेत सेवन गरेका छन् ।

गुर्जो, ज्वानो, बेसार पानीसमेत नियमित सेवन गर्दै आएका छन् ।

मन्त्रालयको कामबारे नियमित रुपमा उनी सचिवसँग आवश्यक ब्रिफिंग लिन्छन् र काम कारबाहीका लागि निर्देशन दिने गर्छन् ।


कस्तो लाग्यो ?

यो पनि