काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरू भएको छ ।
शुक्रबार बिहान ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्री ओलीका प्रेस विज्ञ रामशरण बजगाईंले जानकारी दिए ।
बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले यसअघि तयार पारिएको प्रस्ताव पेश गर्नेछन् ।
पार्टीभित्रको विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनमा केही परिमार्जन गरेर अध्यक्षद्वयले १५ बुँदे प्रस्ताव तयार पारेका छन् ।
गत असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक 'पार्टीभित्र देखिएको विवादका कारण' मूल कार्यसूचीमै प्रवेश नगरी स्थगित हुँदै आएको थियो ।
स्थायी कमिटी बैठक साउन १३ देखि अनिश्चितकालका लागि स्थगित भएको थियो ।
नेकपाले स्थायी कमिटीको बैठकलाई सम्भव भएसम्म आजै टुङ्ग्याउने जनाएको छ।
आजको बैठक सुरु हुनुअघि अध्यक्षद्वय (ओली-प्रचण्ड) बीच करिब आधा घण्टा 'वान टु अन वान' छलफल भएको थियो ।