जेठ ०६, २०८१, आइतबार
               

के वामदेव अर्थमन्त्री बन्लान् ?
‘वामदेव राष्ट्रियसभाका लागि गएका होइनन्, राम्रो मन्त्रालयका लागि बाटो खुलाएका हुन् ’

ADVERTISEMENT

अर्थमन्त्री डा. खतिवडाको राष्ट्रियसभाबाट बर्हिगमनपछि उनले सम्हाल्दै आएको अर्थमन्त्रीको पद स्वत: खाली हुनेछ । खतिवडा शनिबारबाट अर्थमन्त्रीको पदबाट मुक्त हुनेछन् ।  रिक्त रहेको राष्ट्रिय सभा सदस्यको सिटमा सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई मनोनयन गर्ने निर्णय भइसकेको छ । अब खतिवडाको बहिगर्मनसँगै अर्थमन्त्रालय र सञ्चार मन्त्रालय खाली हुनेछन् ।

राष्ट्रियसभा सदस्यसँगै नेता गौतमले उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालयको जिम्मेवारी लिने चाहना राखेका छन् । तर, प्रधानमन्त्री ओलीले वचन भने दिएका छैनन् । 

किनकि राष्ट्रियस भामा खतिवडालई छाडेर वामदेव गौतमलाई रोज्नु प्रधानमन्त्री केपी शर्मा ओलीका लागि बाध्यात्मक कदम हो । उनी खतिवडालाई निरन्तरता दिन चाहन्थे । प्रधानमन्त्रीले भरोसायोग्य सारथि ठानेका अर्थमन्त्री खतिवडाको बहिर्गमनसँगै नेकपाभित्र अब ओली सरकारको भावी अर्थमन्त्री को बन्ला भनी चर्चा  हुन थालेको छ ।

नेकपामा विवाद समाधानका लागि गठित कार्यदलले सरकारको काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस गरेको छ । त्यसैअनुसार दुई अध्यक्ष ओली र प्रचण्ड भदौ मसान्तभित्र मन्त्रिपरिषद् पुनर्गठनका लागि तयार भएका छन् ।

यसअघि वामदेवलाई प्रधानमन्त्री ओलीले डोल्पाबाट चुनाव लड्न सुझाव दिएका थिए । तर, उनले हार्न सक्ने आँकलन गरेर राष्ट्रियसभा सदस्य बन्न लबिङ गरे । किनकि उनको अकांक्षा राष्ट्रियसभा सदस्य नभएर मन्त्री बन्ने बाटो खुलाउनु हो । 

वामदेव सरकारमा गए उपप्रधानसहित अर्थमै जानै नभए गृह र रक्षाजस्ता महत्वपूर्ण मन्त्रालयमा दाबी गर्ने मुडमा रहेको उनीनिकट स्रोतको दाबी छ ।  स्रोतले भन्यो, ‘वामदेव राष्ट्रियसभामा प्रवेश गरेका होइनन्, उनले राम्रो मन्त्रालय पाउन बाटो खुलाएका हुन् ।’

यसमा नेकपाका अर्का अध्यक्ष प्रचण्डज्यूको पनि साथ रहनसक्ने वामदेवनिकटहरुको । ‘वामदेव कामरेडले अर्थमन्त्री माग्नुभएको छ, उहाँ सरकारमा गए अर्थमै जानुहुन्छ, नत्र जानुहुन्न । सम्भवत: यही महिनाभित्र मन्त्रिपरिषद् पुनगर्ठन हुन्छ, त्यसमा उहाँको दाबी रहनेछ,’ वामदेवनिकट एक स्थायी कमिटी सदस्यले भने ‘ गृह र रक्षा पाएमा उहाँ जान सक्नुहुन्छ ।’

अर्थमै धेरैको आकांक्षा

प्रधानमन्त्री ओली गौतमलाई अर्थ मन्त्रालयको साँचो जिम्मा लगाउने पक्षमा नरहेको नेकपा नेता बताउँछन् । बरु विष्णु पौडेललाई ल्याउन चाहन्छन् । पहिलोपटक ओली प्रधानमन्त्री हुँदा पनि पौडेल अर्थमन्त्री थिए । यसमा वरिष्ठ नेता माधवकुमार नेपालले पनि भागबण्डा खोजेमा उनीनिकट सुरेन्द्र पाण्डेलाई अर्थ दिने ओलीको मनस्थिति रहेको बालुवाटार स्रोतको दाबी छ । ६ महिनापहिले राष्ट्रिय सभामा युवराज खतिवडाको कार्यकाल सकिनुअघि नै पाण्डेलाई अर्थमन्त्रीको आश्वासन दिइएको थियो ।

तर, ओलीले फागुनमा खतिवडालाई पुनः मन्त्रीमा नियुक्त  गरेका थिए । प्रधानमन्त्री ओलीले आश्वासन दिए पनि मन्त्री नबनाएपछि  पाण्डे राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ समेत गएका थिए । राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीसँग अर्थमन्त्री बनाउन आग्रह गर्ने भनेर मत्थर पारेकी थिइन् । राष्ट्रपतिबाट आश्वासन पाएपछि पाण्डे अर्थ मन्त्रालय गएपछि कसरी काम गर्न सकिन्छ भनेर दौडधुपमा छन् । पाण्डे पहिले पनि अर्थमन्त्री भइसकेका र तुलनात्मक रूपमा सफल भएका कारण उनकोे दाबीलाई नेता नेपाल समूहले पनि त्यसलाई पुस गरिरहेको छ । 

यसरी, एकै पदमा उच्च प्रतिस्पर्धा हुँदा वामदेवले अर्थ नपाउने संभावना छ । अर्थ मन्त्रालय नपाए वामदेवले रक्षा वा गृह दाबी गर्न सक्नेछन् । यसो हुँदा गृहमन्त्रालयमा पूर्वमाओबादीबाट रामबहादुर थापा मन्त्री रहेकाले पूर्वएमालेबाट मन्त्री बनेका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको पद धरापमा पर्ने देखिन्छ ।

यसअघि वामदेवले प्रधानमन्त्री ओलीसामु स्वतन्त्र हैसियतको शक्तिशाली विकास निर्माण प्राधिकरणको प्रमुख हुने चाहना  व्यक्त गरेका थिए । प्राधिकरण गठनका लागि आफूले प्रस्ताव बुझाए पनि बेवास्ता गरिएको भन्दै उनी प्रधानमन्त्री ओलीसँग रुष्ट थिए । तर, सरकारमै गएर राम्रो मन्त्रालय लिने उनको इच्छा छ । वामदेवालाई राष्ट्रियसभा सदस्य बनाउने निर्णयको भने केही नेताले आलोचना गरेका छन् ।

उनीहरुले निर्वाचन हारे पनि सांसद र मन्त्री बन्ने नेपाली राजनीतिभित्र वर्षौंदेखि हुर्किइरहेको विकृतिको शृंखलामा फेरि नयाँ अध्याय थपिएको भन्दै आलोचना गरेका छन् । वामदेव २०७४ मंसिरको चुनावमा बर्दिया–१ बाट पराजित भएका थिए । यसअघि प्रतिनिधिसभा सदस्य बन्न बारम्बार प्रयास गरेका उनी ३३ महिनापछि मनोनीत कोटामा सांसद बनेर संघीय संसद् छिर्न लागेका हुन् ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि