जेठ ०७, २०८१, सोमबार
               

प्रचण्ड निस्किएपछि बालुवाटारमा वामदेवको इन्ट्री, गोप्य भेटवार्ता

नेपाल फ्ल्यास
भदौ १७, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच गोप्य भेटवार्ता भएको छ ।

त्यसअघि आजै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो । करिब दुई घण्टाको छलफलपछि प्रचण्ड बालुवाटारबाट निस्किएका थिए ।

प्रचण्ड निस्किएलगत्तै प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले गौतमलाई बालुवाटार बोलाएका हुन् । गौतम करिब सवा सात बजेतिर बालुवाटार पुगेका थिए ।  

गौतमका सहयोगी विश्वमणि सुवेदीका अनुसार, 'बालुवाटारमा ओली र गौतमबीच करिब एक घण्टा छलफल भयो ।' तर छलफलमा कुनै सहमति नभएको उनले बताए ।

गौतमले आफू राष्ट्रियसभामा जाने इच्छा देखाएपछि उनलाई फकाउन ओलीले वालुवाटार बोलाएको नेकपा स्रोतले बताएको छ ।

पछल्लो समयमा पार्टीभित्र रिक्त एक राष्ट्रिय सभा सदस्यमा उपाध्यक्ष बामदेव गौतमलाई पठाउने वा युवराज खतिवडालाई निरन्तरता दिने भन्ने विषयमा मतभेद देखिएको छ । 

यसअघि राष्ट्रिय सभामा जान अस्वीकार गरेका नेकपा उपाध्यक्ष वामदेव गौतमले पुनः राष्ट्रिय सभामा जाने इच्छा देखाएपछि रिक्त एक पदमा कसलाई पठाउने भन्नेमा नेकपामा मत बाझिएको छ ।  

प्रधानमन्त्री ओली हालका अर्थमन्त्री समेत रहेका युवराज खतिवडालाई नै राष्ट्रिय सभा सदस्यमा निरन्तरता दिने पक्षमा देखिएका छन् । पार्टीले गौतमलाई पठाउने निर्णय नै गरिसकेकाले निर्णय कार्यन्वयन गर्नुपर्ने प्रचण्डको भनाइ छ । 

यसैबीच अध्यक्षद्धय ओली र प्रचण्डबीच  आज भएको छलफलमा पार्टीभित्रका सबै विषय सचिवालय बैठकमा छलफल हुने भएको सहमति भएको छ । 

भोलि बिहान ११ बजे बस्ने नेकपा सचिवालय बैठकको एजेण्डा तय गर्नको लागि दुई अध्यक्षबीच आज छलफल भएको थियो । दुई अध्यक्षबीच करिब दुई घण्टा छलफल भएको थियो । 


कस्तो लाग्यो ?

यो पनि