जेठ ०९, २०८१, बुधबार
               

सचिवालय बैठकको पूर्वसन्ध्यामा ओली-प्रचण्डबीच छलफल हुँदै

नेपाल फ्ल्यास
भदौ १७, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

प्रचण्ड बुधबार ५ बजेतिर बालुवाटार गएका हुन् । सचिवालय बैठकको पूर्वसन्ध्यामा दुई अध्यक्षबीच छलफल भइरहेको एक नेताले जानकारी दिए ।

सचिवालय बैठकको एजेण्डा तय गर्नको लागि दुई अध्यक्षबीच छलफल भइरहेको प्रचण्डनिकट स्रोतले जनाएको छ ।

नेकपाको सचिवालय बैठक भोलि (बिहीबार) ११ बजे बस्दैछ । बैठकमा पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यदलले दिएको प्रतिवेदनका बारेमा छलफल हुने बताइएको छ ।

यसअघि राष्ट्रिय सभामा जान अस्वीकार गरेका नेकपा उपाध्यक्ष वामदेव गौतमले पुनः राष्ट्रिय सभामा जाने इच्छा देखाएपछि रिक्त एक पदमा कसलाई पठाउने भन्नेमा नेकपामा मत बाझिएको छ ।

प्रधानमन्त्री ओली हालका अर्थमन्त्री समेत रहेका युवराज खतिवडालाई नै राष्ट्रिय सभा सदस्यमा निरन्तरता दिने पक्षमा देखिएका छन् ।

अर्थमन्त्री युवराज खतिवडा अहिले प्रतिनिधि वा राष्ट्रियसभा सांसद नभई मन्त्री छन् । संवैधानिक व्यवस्थाअनुसार मन्त्री हुन सांसद पद अनिवार्य हुनुपर्ने छ । तर, सांसद नभए पनि ६ महिनासम्म मन्त्री बन्ने संवैधानिक प्रावधान छ । मन्त्री नियुक्त भएको व्यक्ति ६ महिनाभित्र प्रतिनिधिसभा वा राष्ट्रिय सभाको सदस्य बन्नुपर्ने र त्यसो हुन नसकेमा उनी मन्त्रीबाट स्वतः हट्नेछन् ।  

खतिवडा यसअघि राष्ट्रिय सभा सदस्य थिए । राष्ट्रिय सभा सदस्यको समयाविध सकिएपछि फागुन २०मा उनलाई थप कार्यकालका लागि पुनः मन्त्रीको जिम्मेवारी दिइएको थियो । यही हिसाबले उनी सांसद नभई मन्त्री बनेको भदौ २० गते ६ महिना पुग्दैछ । 

यसअघि राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनीत उनी फेरि सांसद बन्न सोही प्रक्रियाबाहेक अरु विकल्प छैन ।  भदौ २० पश्चात् सोही मन्त्री पदमा रहनका लागि राष्ट्रिय सभामा पुनस् सिफारिस हुनुपर्नेछ । 

तर गौतमको राष्ट्रिय सभामा जाने इच्छापछि प्रधानमन्त्री ओली अप्ठ्यारोमा परेका छन् ।


कस्तो लाग्यो ?

यो पनि