जेठ ०६, २०८१, आइतबार
               

मन्त्रिपरिषद् फेरबदलको तयारीमा ओली, आकांक्षीहरुको दौडधुप तीव्र
यसअघिको पुनर्गठनमा अनुहार फेरियो, कार्यशैली फेरिएन

नेपाल फ्ल्यास
भदौ १५, २०७७

ADVERTISEMENT

मन्त्रीहरुको कामप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीमण्डल पुनर्गठनको गृहकार्यमा जुटेका छन् । जसका लागि उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समेत छलफलमा छन् ।

पार्टीभित्रको विवाद मिलाउन पछिल्लोपटक गठित कार्यदलको सुझावअनुसार प्रधानमन्त्रीमा ओलीलाई नै निरन्तरता दिने भएपछि अध्यक्ष दाहाल पार्टीमा बलियो हुने र सरकारमा थप साझेदारी खोजिरहेका छन् । त्यसबाहेक वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पनि आफ्नो भागमा थप मन्त्री पठाउन खोजेपछि प्रधानमन्त्री पुनर्गठनको तयारीमा जुटेका हुन् ।

सरकारको कार्यशैलीप्रति पार्टीभित्रै चर्को असन्तुष्टि र कार्यदलले मन्त्रीहरु फेरबदल गर्न सुझाव दिइसकेकाले प्रधानमन्त्री ओली दबाबमा छन् । त्यसमाथि भागबण्डाकै लागि नेकपा नेतृत्वका ६ प्रदेशमध्ये केही मुख्यमन्त्री र मन्त्रीहरु हेरफेरको तयारी छ ।

तर, प्रदेशमा चुनाव जितेर मुख्यमन्त्री भएकाहरु हेरफेर गर्दा उनीहरु खाली बस्नुपर्ने हुन्छ । उनीहरुलाई केन्द्रमा मन्त्री बनाउन नमिल्ने भएकाले पार्टीको जिम्मेवारी हेरफेर गरेर मिलाउने तयारीमा दुई अध्यक्ष रहेको बताइएको छ । यसरी हेरफेरमा पर्नसक्ने मुख्यमन्त्रीमा प्रदेश-५ का शंकर पोखरेल र बाग्मती प्रदेशका डोरमणी पौडेल छन् । यद्यपि अरु पनि कुनै प्रदेशका मुख्यमन्त्री फेरबदल गर्ने भन्नेमा कुरा मिल्न बाँकी रहेको नेताहरु बताउँछन्  ।

‘कमजोर कार्यशैली देखिएका, दुई वर्ष कार्यकाल पूरा गरेकलाई बिदा गर्ने कि मन्त्रीहरुको पूरै सेट फेर्ने भन्नेमा नेतृत्वबीच बहस चलिरहेको छ,’ प्रधानमन्त्री सचिवालय स्रोतले भन्यो, ‘मन्त्रीले पेस गरेको कार्ययोजनाअनुसार परिमाण दिन असफल भएको निष्कर्ष छ ।यसैले कोरोना महामारीबीचमा सरकारको कामलाई गति दिन भन्दै केही मन्त्री हेरफेर गर्न लागिएको हो ।’

शहरी विकास  र सञ्चार कामचलाउ मन्त्रीको भरमा

ओलीको नेतृत्वमा सरकार बनेको साढे दुइ वर्ष भइसकेको र धेरैजसो मन्त्रीको कार्यकाल दुई वर्ष नाघेकाले संघीय सरकारमा अधिकांश मन्त्री फेर्न प्रधानमन्त्रीमाथि दबाब छ । यसअघि मन्त्रिपरिषद् हेरफेर गर्दासमेत केही राम्रा मन्त्री हटाइएको र केही नल्याउनुपर्नेलाई मन्त्रीमा ल्याइएको भन्दै आलोचना भएको थियो । 

त्यसमाथि शहरी विकास  र सूचना तथा सञ्चार मन्त्रालय सात महिनादेखि कामचलाउ मन्त्रीको भरमा छन् । त्यसबाहेक अर्थमन्त्री युवराज खतिवडाको  कार्यकाल सकिन अब एक साता मात्रै बाँकी छ । त्यसैले सम्भवत: यसैसाता मन्त्रिपरिषद् पुनर्गठन हुनसक्ने आँकलन गरिएको छ । मन्त्रिपरिषद् फेरबदलको तयारीपछि आकांक्षीको दौडधुप बढेको छ ।

यसअघि पनि अनुहार फेरियो, कार्यशैली फेरिएन

वर्ष दिनअघि पनि प्रधानमन्त्री ओलीले ठूलो संख्यामा मन्त्रिपरिषद् हेरफेर गरेका थिए । तर, पनि वर्ष दिनसम्म नयाँ नियुक्त भएका मन्त्रीबाट ठोस परिणाम आएको देखिँदैन । फेरबदल गरिएका मन्त्रीको अनुहार हेर्दा खासै उत्साह देखिनेखालको नभएको नियुक्तिकै क्रममा धेरैले टिप्पणी गरेका थिए ।

समाजवादी पार्टी नेपालका अध्यक्ष तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका उपेन्द्र यादवललाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएका थिए । पछि उनको दल सरकारबाट बाहिरिएको थियो । पछि उपसभामुखबाट राजीनामा गराइएकी शिवमाया तुम्बाहाम्फेलाई कानुनमन्त्री दिइयो भने कानुनमन्त्रीबाट स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई बनाइयो । पूर्वमाओवादीबाट मन्त्री बनेका चक्रपाणि खनाललाई हटाएर घनश्याम भुसाललाई कृषि तथा पशुपक्षी मन्त्री बनाइएको छ । 

त्यसैगरी, पूर्वमाओवादीकै मातृका यादवलाई हटाएर लेखराज भट्टलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनाइएको छ । पूर्वएमालेबाट मन्त्री बनेका गोकर्ण विष्टलाई पनि असफल मन्त्रीको ट्याग लगाउँदै हटाएर रामेश्वरराय यादवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी दिइएको छ ।

मन्त्री भएदेखि नै बढी आलोचना खेप्दै आएका रघुवीर महासेठलाई हटाएर वसन्तकुमार नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाइएको छ । पहिलोपटक मन्त्री हुँदा निकै सफल भनिएका लालबाबु पण्डितलाई हटाएर हृदयेश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाइएको छ ।

त्यसैगरी, थममाया थापालाई हटाएर पार्वत गुरुङलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनाइएको छ । उद्योगी मोतीलाल दुगडलाई उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनाइएको छ भने रामवीर मानान्धरलाई सहरी विकास राज्यमन्त्री बनाइएको छ ।

७० करोड कमिसन प्रकरणमा सञ्चारमन्त्री रहेका गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएपछि सो ठाँउ अहिले अर्थमन्त्री खतिवडाले धानिरहेका छन् । 

अघिल्लो पटक फेरबदल गरिएका मन्त्रीहरु पनि केवल मिलीजुली खानुपर्छ भन्ने मान्यताले मात्रै ल्याएको विश्लेषकहरुको टिप्पणी छ । वरिष्ठ पत्रकार तथा विश्लेषक आनन्दराम पौडेल भन्छन्, ‘अघिल्लो पटक मन्त्री फेरबदल हुँदा आलोचित नभएका र आशा गरिएका अनुहारमा घनश्याम भुसाल मात्रै देखिएका थिए, तर उनले पनि खासै राम्रो प्रफर्मेन्स गर्न पाएका छैनन्, वा गर्न दिइएन, प्रभावकारी भूमिका कसैमा पनि देखिँदैन ।’

यो पनि