जेठ ०९, २०८१, बुधबार
               

नेकपा कार्यदलको प्रतिवेदनः ओलीलाई राहत, पुरा कार्यकाल प्रधानमन्त्री

नेपाल फ्ल्यास
भदौ ०९, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको फरक फरक कार्यविभाजन गरेको छ । गत मंसिर ४ गतेको सहमतिलाई आधार मानेर गर्नुपर्ने सुझाव प्रस्तुत गरेको छ। जसमा ओलीले प्रतिनिधिसभाको पूर्ण कार्यकालभर सरकारको नेतृत्व गर्ने र प्रचण्डले पार्टी सञ्चालन गर्नेगरी अघि बढ्न  सुझाव दिइएको छ ।

प्रतिवेदनमा पार्टीका तत्कालीन विवादहरूको समाधानको उपाय सुझाइएको छ । कार्यदलले शनिबार बुझाएको प्रतिवेदनमा प्रधानमन्त्री समेत रहेका ओली र अर्का अध्यक्ष प्रचण्डको जिम्मेवारी बाँडफाँड गर्ने उपाय प्रस्तुत गरेको हो । 

‘अध्यक्ष कमरेड केपी शर्मा ओलीले प्रतिनिधिसभाको यो कार्यकालभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारलाई नेतृत्व गर्ने र मूलतः सरकारको काममा केन्द्रित हुने’,प्रतिवेदनमा भनिएको छ, ‘अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अधिकारसहित मूलतः पार्टीका बैठकहरूको सञ्चालन निर्णयहरूको कार्यान्वयन र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रित हुने ।’

प्रतिवेदनमा पार्टीमा उत्पन्न अन्तरविरोध समाधान, पार्टी एकीकरणका बाँकी काम, पार्टीको एकता राष्ट्रिय महाधिवेशनको आयोजना, सरकारको काम, नेपाल सरकार र अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेसनबीचको मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता, नेपालको सीमा समस्या र समाधान, कोविड–१९ महामारीको रोकथाम, नियन्त्रण, उपचार र आर्थिक–सामाजिक पुनरुत्थान र शान्ति प्रकृयाका बाँकी कामहरूसम्बन्धी प्रस्ताव छन् ।

प्रतिवेदनमाथि अध्यक्षद्वयबीच मंगलबार छलफल हुने भएको छ । प्रतिवेदनमाथि दुई अध्यक्षले छलफल गरेपछि आवश्यकता अनुसार थप घट गरेर सचिवालयमा लैजाने तयारी छ । सचिवालयमा आवश्यक परिमार्जनपछि प्रतिवेदनलाई एउटा प्रस्तावका रुपमा स्थायी कमिटीमा लैजाने तयारी नेताहरूको छ ।

साउन ३० गते ओली र दाहालको सहमतिमा कार्यदल गठन भएको थियो । कार्यदलमा प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट दुई–दुईजना नेता तोकिएका थिए ।

जसअनुसार पौडेल र शंकर पोखरेल ओलीनिकट, जनार्दन शर्मा र पम्फा भुसाल दाहाल तथा सुरेन्द्र पाण्डे र भीम रावल नेपालनिकट हुन् । एक साताको गृहकार्यपछि कार्यदलले शनिबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको थियो ।


कस्तो लाग्यो ?

यो पनि