जेठ ०२, २०८१, बुधबार
               

'भोलिदेखि काम सुरु, विवाद छिट्टै सुल्झाउँछौं': संयोजक पौडेल

नेपाल फ्ल्यास
साउन ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानको प्रस्तावको मस्यौदा तयार गर्न महासचिव विष्णु पौडेलको संंयोजकत्वमा कार्यदल गठन गरिएको छ ।

पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार भएको वार्तापछि पौडेलको संयोजकत्वमा कार्यदल बनाइएको हो ।

पौडेलको संयोजक रहेको कार्यदलमा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुसाल सदस्य रहेका छन् ।

भोलिदेखि नै आफूहरु (कार्यदल) ले काम सुरु गर्ने र पार्टीमा देखिएको विवाद समाधानको विषयमा छिट्टै प्रस्तावको मस्यौदा अध्यक्षहरुलाई बुझाउने संयोजक विष्णु पौडेलले बताए ।

'कार्यदललाई निश्‍चित समयावधि दिइएको छैन, हामी चाँडो भन्दा चाँडो अहिलेको विवाद निरुपणका लागि काम गर्छौं', पौडेलले भने, 'विवाद समाधानका सबै उपाय र विकल्पमा हामी छलफल थाल्छौं, पार्टीलाई नयाँ गतिमा अघि बढाउने गरी अहिलेको विवाद सुल्झाउने दिशामा हामी अघि बढ्छौं ।'

कार्यदलले व्यवहारिक र सैद्धान्तिक लगायत बिभिन्न विषयमा पार्टीको विवाद समाधान गर्ने प्रस्तावको मस्यौदा तयार गरी बुझाउने संयोजक पौडेलले बताए ।

कार्यदलमा अध्यक्ष ओली, दाहाल र वरिष्ठ नेता नेपाल समूहका नेता समेटिएका छन् । महासचिव पौडेल र पोखरेल ओली समूहका हुन् । जनार्दन शर्मा र पम्फा भुसाल प्रचण्ड समूहका हुन भने भीम रावल र सुरेन्द्र पाण्डे नेपाल समूहका हुन् ।

यसैबीच गत बुधबार प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले नेकपा नफुट्ने बताउँदै अहिले देखिएको विवाद पाँच दिनमा समाधान हुने दाबी गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि