जेठ ०८, २०८१, मंगलबार
               

नेकपामा पाँचदिने ‘काउन्टडाउन’ सुरु, विवाद समाधान होला त ?

नेपाल फ्ल्यास
साउन २९, २०७७

ADVERTISEMENT

विभाजनको सँघारमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा लामो संवादहीनतालाई तोड्दै दुई अध्यक्ष पुनः वार्तामा बसेका छन् । वाता सुरु भएलगतै प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तै कि वार कि पारको ‘काउन्टडाउन’ सुरु भएको छ । 

झन्डै १० दिनपछि संवादमा जुटेका प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार छलफल भएको हो । छलफलमा महासचिव विष्णु पौडेलसहित स्थायी कमिटी सदस्यद्वाय शङ्कर पोखरेल र जनार्दन शर्मासमेत सहभागी थिए । शीर्ष नेतासँग अरू दोस्रो तहका नेतासमेत सहभागी रहेकाले मध्यमार्गी निकास आउने अपेक्षा गरेका छन् ।

असार १० बाट सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल लगायतले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए ।

प्रधानमन्त्री ओलीले बुधबार एपिवान टेलिभिजनमा पत्रकार भूषण दाहालसँग कुरा गर्दै पाँच दिनभित्रै नेकपाको सङ्कट समाधान हुने बताएका थिए । ‘कति दिन भन्नुभयो तपाईंले ?   हप्ता दस दिन होइन, हप्ताभन्दा यतै पाँच दिनमा फेरि मसँग प्रश्न गर्नुस्, के हुन्छ सिनेरियो । भोलिबाट एक भनेर काउन्टडाउन सुरु गर्नुहोला,’ अन्तरवार्तामा ओलीले भनेका छन् ।

त्यसको भोलिपल्टै दुई अध्यक्ष र सहयोगी नेताहरुसहितको वार्तामा समाधानका विकल्पमाथि छलफल सुरु भएको हो । छलफलपछि पाँच दिनमै नेकपाको विवाद समाधान होला त ? भन्ने चासो उत्पन्न भएको छ । ओलीले दाबी गरेको भोलिपल्ट नै छलफल हुनुलाई महत्त्वका साथ हेरिएको छ । 

एक स्थायी कमिटी सदस्यले भने, ‘दुई अध्यक्षबीच समझदारीको प्रयास भइरहेको छ,  अहिलेको गतिरोधको निकास दुई अध्यक्षले दिने भन्दै अब त्यसको निर्णायक छलफल सुरु भएको हो ।’

दुई अध्यक्षबीच भइरहेका कुरालाई अरू तीन नेताले सहमतिको मस्यौदाका रूपमा तयार गर्ने र सहमतिको खाका तयार गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले बताए । दुई अध्यक्ष ओली र प्रचण्डको मध्यस्थता नेकपाका महासचिव पौडेल, स्थायी कमिटी सदस्य पोखरेल र शर्माले गरिरहेका छन् ।

प्रधानमन्त्री ओलीले स्थायी समिति बैठकमा आफू नजाने, केन्द्रीय समिति बैठक नबोलाउने, स्थायी समिति बैठक राखेमा वैधानिक नहुने, अध्यक्ष र प्रधानमन्त्रीको पद नछोड्नेलगायत अडान राख्दै आएका छन् । अर्का अध्यक्ष प्रचण्डले भने प्रधानमन्त्री ओलीले कुनै एक पदबाट राजीनामा दिनुपर्ने, रोकिएको स्थायी समिति बैठक सुरु गर्नुपर्ने र त्यो नभए केन्द्रीय समिति बोलाउनुपर्ने बताउँदै आएका छन् । यही कारणले नेकपामा विवाद बढेको छ ।  

प्रचण्डसँगै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ओलीलाई एक पद छाड्न दबाब दिइरहेका छन् । उनीहरूले ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा नदिए पार्टीको बहुमतले गरेको निर्णय मान्नुपर्ने दबाब पनि दिइरहेका छन् । तर, अध्यक्षको विषयमा भने महाधिवेशनबाटै नयाँ नेतृत्व चयन गरिने विषयमा ओलीले प्रस्ताव लगेका छन् । प्रधानमन्त्रीले दुवै पद नछाड्ने र महाधिवेशन आयोजक समिति बनाएर जाऔँ भन्ने प्रस्ताव ओली समूहले ल्याएको संस्थापनइतर पक्षका नेताहरूको भनाइ छ । 

छलफलमा अहिलेको चार सय सदस्य रहेको जम्बो केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरेर चैतमा महाधिवेशन गर्ने विकल्पमा समेत छलफल भइरहेको छ । पार्टी अध्यक्ष पद नछाड्ने बरु मङ्सिरमै अर्ली महाधिवेशन गर्ने यसअघि प्रधानमन्त्री ओलीले बताएका थिए ।


कस्तो लाग्यो ?

यो पनि