जेठ ०९, २०८१, बुधबार
               

कोरोना कहरबीच नेकपा नेतृत्वमा विवाददेखि संवादहिनतासम्म

नेपाल फ्ल्यास
साउन २८, २०७७

फाइल फोटो
ADVERTISEMENT

सत्तारुढ नेकपाको शीर्ष तहमा महिनौँदेखि जारी विवाद संवादहिनतामा पुगेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच संवादहिनताको अवस्था सिर्जना भएको हो । महिनौँदेखि जारी विवादले गम्भीर रूप लिइरहेका बेला कोरोना संक्रमण पनि तीव्र रूपमा फैलिरहेकाे छ भने यहीबीच शीर्ष नेताहरूकाे भेटघाट पनि हुन सकेको छैन । जसकारण  संवाद समेत रोकिन पुगेको दोस्रो तहका नेताहरू बताउँछन् । पछिल्लो समयमा काठमाडौं उपत्यकासहित देशभर कोरोना सङ्क्रमितको सङ्ख्या बढेका कारण शीर्ष नेताहरूले एक आपसको भेटघाट बन्द गरेका हुन् ।

पछिल्लो समय पार्टीमा अध्यक्ष तथा प्रधानमन्त्री ओली पक्ष एकातिर र अर्को अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल पक्ष अर्कोतिर छ । विवाद समाधानको लागि दुई अध्यक्ष छलफलमा छलफलमा बस्नुपर्ने हो तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को सुरक्षाको बाहिरी घेरामा खटिएकामध्ये एक सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि भेटघाट बन्द भएको  छ ।

केही नेताहरूले भने आफू निकटहरूसँग विभिन्न ढङ्गबाट छलफल भने जारी राखे पनि शीर्ष तहमा छलफल हुन सकेको छैन । दोस्रो तहका नेताहरूले प्रत्यक्ष र केहीसँग टेलिफोन संवादमार्फत कुराकानीलाई निरन्तरता दिए पनि शीर्ष नेताहरू भेटघाट तथा छलफलमा सक्रिय हुन नसकेको एक स्थायी कमिटी सदस्यले बताए । ती नेताले भने ‘केही नेताहरूसँग आफू निकटका नेताहरूसँग छलफलमा रहे पनि समस्या समाधान गर्ने विषयमा शीर्ष तहमा छलफल हुन सकेको छैन, काठमाडौंमा कोरोना संक्रममण तीव्र फैलिएपछि संवाद रोकिएको हो ।’

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भने आफूनिकट सांसद तथा केन्द्रीय सदस्यहरूसँग सोमबार भेटेका थिए । छलफल उनले ओली पक्षसँग संवाद हुँदा लिने पोजिसनको विषयमा छलफल गरेका थिए । सो भेटमा उनले विभिन्न समूहले सुरु गरेका हस्ताक्षर अभियानबारे चासो व्यक्त गरेका थिए ।

सोमबार आफ्नै निवासमा डा. विजय पौडेल, गणेश पहाडी, ठाकुर गैरे, रामकुमारी झाँक्री, यज्ञ सुनुवार, डा दीपकप्रकाश भट्ट, नीरज आचार्यलगायत केन्द्रीय सदस्य तथा सांसदहरूको टोलीसँग हस्ताक्षर अभियानको उद्देश्य आदिबारे चासोपूर्वक जानकारी लिएका थिए ।

केन्द्रीय सदस्य समेत रहेका सांसद गणेश पहाडीले हस्ताक्षर अभियानबारे नेपाललाई जानकारी गराएका थिए । उनले पार्टी एकतालाई जोगाउनका लागि आफूहरूले हस्ताक्षर गरेको बताएका थिए ।

अघिल्लो दिन आइतबार नेकपामा ६३ सांसदहरूले पार्टी एकताको लागि भन्दै हस्ताक्षर सार्वजनिक गरेका थिए । त्यस्तै पार्टीको केन्द्रीय कमिटी बैठक माग गरी १५२ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित पार्टी नेतृत्वलाई पत्र बुझाइएको छ ।

उता, कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले केही दिनअघि कसैलाई भेटेका छैनन् । प्रचण्डको सचिवालयले भन्यो ‘अध्यक्षयूको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएपछि केही समय उहाँले पनि भेटघाट बन्द गर्नुभएका छ ।’ यद्यपि प्रचण्डको पिसीआर रिर्पाेट भने नेगेटिभ आएको छ ।

उता प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केही सांसद र केन्द्रीय सदस्यहरूसँग परामर्श तथा भेटघाट जारी राखेको बताइएको छ । तर पार्टीमा विवाद रहेको अर्को पक्षसँग छलफल हुन सकेको छैन ।

उनले फोनमार्फत संवाद जारी राखेको हुनसक्ने उनीनिकट एक नेताको भनाइ छ । ती नेता भन्छन् ‘कोरोना सङ्कट र पार्टीको विवादको यस्तो गम्भीर परिस्थीमा प्रधानमन्त्री निष्क्रिय बस्ने भन्ने त हुँदैन, भेटघाट नगरेरै फोनबाट छलफल तथा संवाद जारी राख्नुभएको छ ।’


कस्तो लाग्यो ?

यो पनि