जेठ ०४, २०८१, शुक्रबार
               

गण्डकी प्रदेशकै ठूलो सभाहल तनहुँमा

नेपाल फ्ल्यास
साउन २०, २०७७

ADVERTISEMENT

तनहुँ । गण्डकी प्रदेशकै ठूलो तनहुँ सभाहल तनहुँको सदरमुकाम दमौलीमा निर्माण गरिएको छ । करिब ७५० जना क्षमताको उक्त भवनको हालसम्म ६५ प्रतिशत निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।
 
विसं २०७७ असार १३ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि कोभिड–१९ का कारण नेपाल सरकारले गरेको बन्दाबन्दीको घोषणापछि निर्माणकार्य प्रभावित बनेको हो । भवन निर्माणमा नेपाल सरकार र विदेशी दाताको संयुक्त कोष रहेको छ । २३ करोड ६२ लाख ४३ हजार ३३१ रुपैयाँको लागतमा निर्माणाधीन उक्त भवनको निर्माणको जिम्मा श्री डाँफे एमए प्रतिष्ठा जेभी काठमाडौंले पाएको हो ।
 
व्यास नगरपालिका–३ बिपी वनबाटिकामा निर्माणाधीन उक्त भवनको करिब ३५ प्रतिशत काम सम्पन्न गर्न बाँकी देखिएको श्री डाँफे एमए प्रतिष्ठा जेभीका साइड सुपरभाइजर गौतम घिमिरेले जानकारी दिए । करिब ६ हजार ५०० वर्गफिट क्षेत्रफलमा दुई ब्लकमा गरी भवन निर्माण गरिएको छ भने लम्बाइ ७५ र चौडाइ ४५ सेन्टिमिटरको बिम निर्माण गरिएको छ ।

उक्त भवन चार ढलानको बनाइएको छ । भवनको भुइँ ढलानमा सवारी पार्किङ, दोस्रो तलामा स्टेज, तेस्रोमा सेमिनार हल र चौथोमा अतिथिका लागि कपडा परिवर्तन गर्ने र आराम गर्ने कक्ष हुनेछन् । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय गोरखाको आर्थिक सहयोगमा उक्त भवन निर्माण अघि बढाइएको हो । उक्त भवनमा प्लम्बिङ, बिजुली, पानी जडानका साथै फिनिसिङलगायतका काम बाँकी रहेको बताइएको छ । 

बन्दाबन्दी खुलेसँगै उक्त भवनको निर्माणकार्य सुरु गरिएको छ । अहिले १४ कामदार परिचालन गरी तीव्ररूपमा भवन निर्माणको काम भइरहेको बताइएको छ । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले र शहरी विकास तथा भवन निर्माण विभाग आयोजना व्यवस्थापन कार्यान्वयन एकाइ पोखराका सवइञ्जीनीयर अर्जुन सुवेदीले गत शुक्रबार निर्माणाधीन सभाहल भवनको अनुगमन गर्नुभएको थियो । विसं २०७४ पुस १३ मा सम्झौता गरी तीन वर्षमा सम्पन्न गर्ने योजना रहे पनि बन्दाबन्दीका कारण निर्माणकार्यमा ढिलाइ हुन गएको निर्माण कम्पनीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि