जेठ ०७, २०८१, सोमबार
               

ओली प्रचण्डबीच फेरि दुरी बढ्यो, स्थायी कमिटी बैठक अनिश्चित

नेपाल फ्ल्यास
साउन १२, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक पुन: अनिश्चित बनेको छ । २ दिनपछि आउँदो बुधबार बस्ने भनिएको बैठक अनिश्चित बनेको हो । यसअघि बैठक साउन ६ गते छोटो समय बसेर १३ गतेका लागि स्थगित भएको हो ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भई टुङ्गो लागेपछि मात्र स्थायी कमिटीको बैठक बस्ने सहमति भएको छ । तर हालसम्म दुई अध्यक्षबीचको दुरी टाढा भएकोले बुधबार बस्ने भनिएको स्थायी कमिटीको बैठक अनिश्चित भएको नेताहरू बताउन थालेका छन् । बैठक स्थगन भएयता शनिबार एक पटक मात्र दुई अध्यक्षको बीचमा छलफल भएको थियो ।

एक स्थायी कमिटी सदस्यले नेपाल फ्ल्याससँग भने, ‘ दुई अध्यक्षको समझदारीपछि बैठक बस्ने भनिएको थियो । तर कुनै कुरा मिलेको छैन । परिस्थिति झन् बिग्रिँदै गएको छ ।’ यद्यपि दुइटै पक्षले आ–आफ्नो शक्ति सञ्चय गर्नतिर लागेका छन् । अध्यक्ष प्रचण्डले खुमलटार र प्रधानमन्त्री ओलीले बालुवाटारस्थित आ–आफ्नो निवासमा आफ्ना गुटका नेताहरूसँग छलफलहरू गरिरहेका छन् ।

पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित एक कार्यक्रममा प्रचण्डले दिएको अभिव्यक्तिले प्रधानमन्त्री तथा अर्का अध्यक्ष ओलीसँग सम्बन्ध राम्रो नभएको सन्देश दिएका थिए । नेकपा (एमाले) दल ओलीकै सक्रियतामा गठन भएको, नक्सा सार्वजनिक गरेको जस ओलीले मात्र लिन खोजेको, जिल्लाहरूमा नारा जुलुस गर्न लगाएको जस्ता आरोप अध्यक्ष प्रचण्डले लगाएका थिए ।

पछिल्लो समय पार्टीमा देखिएको विवादका ओलीसँग बसेर समाधान गर्नुभन्दा बाहिर सार्वजनिक कार्यक्रम मार्फत प्रचण्डले बोल्न थालेका छन् । त्यसप्रति ओली समूह असन्तुष्ट बनेको छ । प्रचण्डको सोही भनाइएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले खण्डन गरेका थिए ।

यसपछि दुई अध्यक्षबीचको दुरी बढेको र तत्कालै दुई अध्यक्षबीचमा संवाद हुने सम्भावना कम देखिएको नेताहरू बताउँछन् । बुधबार स्थायी कमिटीको बैठक बस्ने तय भएको छ तर अहिलेसम्म दुई अध्यक्षको बीचमा संवाद नभएको अनिश्चित देखिएको नेताहरू बताउँछन् ।
दुवै अध्यक्ष आ–आफ्नो अडानबाट पछाडि हटेका छैनन् ।

प्रधानमन्त्री र पार्टी अध्यक्ष छाड्नुपर्ने अडान प्रचण्ड पक्षको छ । ओली भने दुवै पद नछाड्ने अडानमा छन् । पद छाड्न प्रधानमन्त्री ओलीले पार्टीको महाधिवेशनका विषय ल्याएका छन् । नेताहरू भन्छन् ‘ कोही लचक हुने अवस्था देखिएको छैन । त्यही भएर पार्टीको अवस्था सुधार हुनुको सट्टा दिनदिनै बिग्रिँदै गइरहेको छ । एकपछि अर्को समस्या थपिँदै गइरहेको छ ।’


कस्तो लाग्यो ?

यो पनि