काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पार्टीको असहयोगका बाबजुद पनि सरकार सफल भएको बताएका छन् ।
शनिबार बनेपामा मदन भण्डारी फाउण्डेसन, काभ्रे जिल्ला कमिटीले गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
मन्त्री ज्ञवालीले भने, ‘सरकारलाई पार्टीभित्रैबाट असहयोग भयो, उनले भने, कोरोनाविरुद्धको लडाइमा सरकारलाई साथ दिनको साटो राजीनामा माग्ने, बैठकमा कस्तो कुर्सीमा को बस्यो भन्ने जस्ता विषय उठाउँदा जनता निराशा हुँदै गएका हुन् ।’
कार्यक्रममा बोल्दै उनले अब एकताबद्ध भएर नक्सामा समेटिएको नेपाली भूभाग फर्काउन जोड दिनुपर्ने बताए ।
‘मित्रराष्ट्र भारतसँग एकताबद्ध भएर वार्ताको टेबुलबाट तथ्य, प्रमाणहरू सबै राखेर आफ्नो स्वामित्वलाई फर्काउनुपर्नेछ,’ उनले भने, ‘कुर्सीमा जेसुकै होस्, तर म राष्ट्रियताका लागि लड्छु भन्ने हिम्मत, कुर्सीबाट हट्न परे पनि आफ्नो भूमि छोडि्दन भन्ने हिम्मत चाहिन्थ्यो ।’