जेठ ०७, २०८१, सोमबार
               

पूर्वमाओवादी समूहको खुमलटारमा भेला
फेरि छाडे गृहमन्त्री थापाले प्रचण्डको साथ

नेपाल फ्ल्यास
साउन ०५, २०७७

ADVERTISEMENT

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी समूहका नेताहरूसँग छुट्टै छलफल गरिरहेका छन् । प्रचण्ड निवास खुमलटारमा जारी छलफलमा पार्टीभित्रको आन्तरिक द्वन्द्वमा पूर्वमाओवादी पक्षधरले लिने पोजिसनको बारेमा छलफल भइरहेको छ । पछिल्लो समय आफ्नै समूहका नेताहरूसँग सशङ्कित हुन थालेपछि  प्रचण्डले  एकीकृत गर्न छलफल राखेको बताइएको छ ।

यद्यपि, सो छलफलमा गृहमन्त्री रामबहादुर थापा र जनार्दन शर्मा भने सहभागी छैनन् । स्थायी कमिटी सदस्य लेखराज भट्ट पनि गएका छैनन् । आइतबारको बैठकमा पनि थापा उपस्थित थिएनन् । लगातार उनी अनुपस्थित रहेपछि फेरि खेमा परिवर्तन गरेका हुन कि भन्ने पूर्वमाओवादीका नेताहरूले आशङ्का गरेका छन् । यसअघि ओलीनिकट रहेका थापा फेरि पछिल्लो समय प्रचण्डले बोलाएका बैठकमा सहभागी हुँदै आएका थिए । थापा र शर्माले पार्टी एकता जोगाउन प्रधानमन्त्री ओलीसँग सहकार्य गरेर जानुपर्ने मत राख्दै आएका छन् ।

पूर्वमाओवादी समूहकै कतिपय नेताहरूले वरिष्ठ नेता माधव नेपालसँग मिल्नुपर्छ भनेर लबिङ गर्दै आएका छन् । केही नेताहरूले  प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गरेर जानुपर्ने बताउँदै आएका छन् । आफ्नै समूहका नेताहरू विभाजित भए पनि प्रचण्डले छलफलमा बोलाएका हुन् । ‘नेताहरूको मत विभाजित भएपछि एकीकृत धारणा बनाउन छुट्टै छलफल गरिएको हो,’ एक स्थायी कमिटी सदस्यले भने ।

 


कस्तो लाग्यो ?

यो पनि