जेठ ०७, २०८१, सोमबार
               

नेकपा स्थायी कमिटी सदस्य भन्छन् ‘लाजैमर्दो भो अब त !’

नेपाल फ्ल्यास
साउन ०४, २०७७

ADVERTISEMENT

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शक्तिशाली निकाय स्थायी कमिटी पार्टीभित्रको आन्तरिक विवादको निकास दिन असफल देखिएको छ। स्थायी कमिटी कम्युनिष्ट पार्टीमा प्रमुख राजनीतिक इकाइ मानिन्छ । तर, नेपालको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी भने कार्यसम्पादनमा असफल देखिएको छ । 
जसकारण अहिले देखिएको विवादमा ठोस निष्कर्ष दिन नसक्दा पार्टीभित्रको गतिरोध लम्बिएको छ । स्थायी कमिटीमा पार्टीका दोस्रो तहका प्रभावशाली नेताहरुको बाहुल्यता छ । तर, पनि अझै निकास निस्कन सकेको छैन । पार्टीभित्रकै विवादका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संसद अधिवेशनसमेत हतारमा अन्त्य गरेका छन् । पार्टीको विवादले सिंगो राष्ट्रिय राजनीतिसहित आमजनताको जनजीवनमा समेत असर गरेको छ । 

बैठक लगातार चारपटक स्थगित

स्थायी कमिटी बैठक सुरु भएको महिना दिन पुग्न लागेको छ। सुरुवाती समयमा केहीदिन बसेको बैठक पछिल्लो समय लगातार स्थगित हुँदै आएको छ  । बैठक फेरि मंगलबारसम्मका लागि सरेको छ । योसमेत गरी लगातार चौथौपटक बैठक सरेको हो । बैठक असार १० गतेबाट सुरु भएको थियो । धारणा राख्ने अधिकांश सदस्यले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सरकार र पार्टी दुवैमा असफल भएको भन्दै उनको राजीनामा माग गरे । 

आफ्नो राजीनामाको माग जोडदार उठेपछि प्रधानमन्त्री ओलीले बैठक पन्छाउँदै आएका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालसहित नेताहरु ओलीलाई दुवै पदबाट हटाउन लबिङ गरिरहेका छन् । तर, ओलीले आफूले कुनै हालतमा पनि पद नछाड्ने बताउँदै आएका छन् । ओली पनि आफ्नो अडानबाट टसमस नभएपछि प्रचण्ड र नेपाल समूह कम्तिमा दुईमध्ये एक पदबाट हटाउन जोड गरिरहेका छन् ।  जसकारण विवादको गाँठो कस्सिरहेको छ ।

स्थायी कमिटीको बैठकको अनिश्चितता र नेताहरुबीचको किचलोबाट स्थायी कमिटी सदस्यहरु दिक्क छन् । स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले फेसबुकमै लेखेका छन् ‘लाजै मर्दो भो अब त !’ उनको आशय स्थायी कमिटी असफल भएको संकेततर्फ केन्द्रित छ ।

२४ घण्टा नटिकेको चोचोमोचो
शनिबार दुई अध्यक्षबीचमा मङ्सिरमा अर्ली महाधिवेशन गर्ने सहमति भएको थियो । तर, प्रचण्डनिवास खुमलटारमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग बसेको बैठकले त्यसलाई अस्वीकार गर्ने निष्कर्ष निकाल्यो । प्रधानमन्त्री ओलीले शनिबारको सचिवालय बैठकमा अर्ली महाधिवेशन मङ्सिरमा गर्ने प्रस्ताव गरेका थिए । प्रधानमन्त्रीको प्रस्तावलाई प्रचण्डले पनि साथ दिएका खबर सार्वजनिक भएको थियो ।

 
बहुमत सचिवालय सदस्यले प्रधानमन्त्री ओलीलाई दुवै पदबाट हटाउने तयारी गरेपछि उनले ‘अर्ली महाधिवेशन’को प्रस्तावमा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई पनि सहमत गराएका थिए । सो खबरसँगै विवादमा ट्विस्ट देखा परेको थियो । तर, २४ घण्टा नबित्दै शनिबारको समझदारी नमान्ने भन्दै प्रचण्ड ओलीलाई भेट्न गएका छन् ।

आइतबार बिहान प्रचण्ड, माधबकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, र केही स्थायी कमिटी सदस्यहरूले छलफल गरेका थिए । सोही छलफलले मंसिरमा महाधिवेशन गर्ने ओलीको प्रस्ताव नमान्ने निष्कर्ष निकालेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि