जेठ ०७, २०८१, सोमबार
               

अर्ली महाधिवेशन अस्वीकार गर्ने खुमलटार बैठकको निष्कर्ष

नेपाल फ्ल्यास
साउन ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । मंसिरमा महाधिवेशन गर्ने केपी ओलीको प्रस्तावमा सहमति जनाएको भनिएका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको छुट्टै भेलाले त्यो सम्भव नभएको निष्कर्ष निकालेको  छ । शनिवारको बैठकमा अर्ली महाधिवेशनमा जान तयार भएका उनको आफ्नै गुटमा आलोचना भएपछि बसेको छुट्टै बैठकले सो प्रस्ताव अस्वीकार गर्ने निष्कर्ष निकालेको  छ ।

आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा बिहान ९ बजेदेखि सचिवालयका चार नेताहरूबीच छलफल भएको हो । छलफलमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ थिए । बैठकमा प्रचण्ड र नेपाल दुवै पक्षका केही स्थायी समिति सदस्यसमेत सहभागी थिए । खनाल, नेपाल र श्रेष्ठले ‘महाधिवेशन मंसिरमा असम्भव रहेको भन्दै ओलीको प्रस्तावमा किन सहमति जनाएको’ भन्दै प्रचण्डसँग जिज्ञासा राखेका थिए ।

प्रचण्डले प्रधानमन्त्री  ओलीले त्यस्तो प्रस्ताव ल्याए पनि कुनै सहमति नभएको दाबी गरे । प्रचण्डको उद्धृत गर्दै  खुमालटार बैठकमा सहभागी एक नेताले भने ‘उहाँको प्रस्ताव आएको हो, तर केही सहमति भएको छैन । म तपाईँहरूको भावना विपरीत म जानै सक्दिनँ । मलाई बाहिर गलत ढङ्गले प्रचार गरिएको छ ।’

अर्ली महाधिवेशनमा आफूले  एस र नो केही नभनेको बताउँदै प्रचण्डले छोरी गङ्गालाई भनेर वक्तव्य दिन भनिसकेको बताए । शनिवार राति नै प्रचण्डकी स्वकीय सचिव गङ्गा दाहालले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गरेकी थिइन् । प्रधानमन्त्री ओलीसँग कुनै सहमति नभएको वक्तव्यमा उल्लेख थियो ।

ओलीलाई राजीनामाको दबाब बढाउन नछाड्ने रणनीति

प्रचण्डको विफिङपछि अरू नेपाल, खनाल, श्रेष्ठ, र अरू सहभागी स्थायी कमिटी सदस्यहरूले मंसिरमा महाधिवेशन गर्ने ओलीको प्रस्ताव नमान्ने निष्कर्ष निकालेका छन् । चाँडै महाधिवेशन गरेर पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने नयाँ प्रस्ताव ल्याएका छन् । उनलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट राजीनामा दिन दबाब दिइएपछि महाधिवेशनबाटै अध्यक्ष पद अर्कालाई सुम्पने ओलीले बताउँदै आएका छन् । तत्कालीन नेकपामा आफू निर्वाचित अध्यक्ष भएकाले अहिले कसैले राजीनामा माग्दैमा नदिने बताउँदै आएका छन् ।

खुमलटार भेलाले भने तत्काल महाधिवेशन नभई आलोपालो सरकार चलाउनुपर्ने कुरालाई जोड दिने निष्कर्ष निकालेको छ । ‘मंसिरमा महाधिवेशन गर्ने तयारी नै नपुग्ने बरु चैत्रसम्म महाधिवेशन गर्न तयार हुने, तत्कालका लागी ओलीलाई राजीनामा दिन दबाब बढाउन भने नछाड्ने विषयमै कुरा भएका छन्,’ बैठकमा सहभागी नेताहरूले बताए ।

राष्ट्रपतिसँगको भेटबारे प्रचण्ड मौन 

प्रचण्डले राष्ट्रपतिसँगको भेटबारे भने बैठकमा स्पष्ट ब्रिफिङ गरेनन् । शनिवार सचिवालय बैठक लगत्तै प्रधानमन्त्री ओली र प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका थिए । ओली र प्रचण्डसँगै महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि शीतल निवास पुगेका थिए । ओली र प्रचण्डसँगै राष्ट्रपतिलाई भेट्न जानु रहस्यपूर्ण रुपमा धेरैले अर्थाएका छन् । शीतल निवासलाई साछि राखेर महाधिवेशन गर्ने निर्णय भएको समेत चर्चा चलेको  छ । एक नेताले भने ‘बैठकमा राष्ट्रपतिसँग भएका कुराकानीका बारेमा प्रचण्डले धेरै बताउन चाहनुभएन ।’

खुमलटार बैठकमा स्थायी समिति सदस्यहरू रघुजी पन्त, भीम रावल, भीम आचार्य, वेदुराम भुषाल, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य सहभागी थिए । त्यस्तै प्रचण्ड निकटका स्थायी समिति सदस्यहरू वर्षमान पुन, मातृका यादव, पम्फा भुसाललगायत  पनि खुमलटार बैठकमा सहभागी थिए ।


कस्तो लाग्यो ?

यो पनि