जेठ ०९, २०८१, बुधबार
               

नेकपाको विवाद केही मत्थर, तर स्थायी कमिटी बैठक अझै अनिश्चित

नेपाल फ्ल्यास
असार २९, २०७७

ADVERTISEMENT

सत्तारुढ दल नेपाल कम्युस्ट पार्टी (नेकपा) भित्रको विवाद तत्कालका लागि सामसुम देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिका कारण चर्किएको विवाद केही दिनयता मत्थर देखिएको हो । देशमा बाढीपहिरोजस्ता प्रकोप निम्तिँदा नेकपाका दुई अध्यक्षको विवादले ब्रेक पाएको हो । विवादले पार्टी नै विभाजनकोे संघारमा पुगेको अवस्थामा पछिल्ला  वार्ता तथा संवाद सकारात्मक भएको दुवै पक्षले दाबी गर्दै आएका छन् ।

प्रधानमन्त्री ओलीले असार १४ गते मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा आफूलाई भारतले हटाउन खोजेको बताएका थिए । सोही अभिव्यक्तिपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेतामाधवकुमार नेपालले स्थायी कमिटी बैठकमा ओलीको दुवै पदबाट राजीनामा मागेका थिए । ओलीले भने दुवै पद नछाड्ने बताएपछि पार्टी फुटको संघारमा पुगेको थियो ।

यसबीचमा विवाद समाधानका लागि दुई अध्यक्षबीच पटकपटक संवादको प्रयास भए । तर, पनि बीसको उन्नाइस नभएको विवाद केही दिनयता मत्थर भएको छ । जसको संकेत अर्का अध्यक्ष प्रचण्डले  दिएका छन् ।

शनिबार गृहजिल्ला चितवन पुगेका उनले शनिबार ओलीको राजीनामा माग गर्नबाट आफू हटेको स‌ंकेत गरे । सार्वजनिक कार्यक्रमलाई संबोधन गर्दै भने, ‘हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने अवस्था नआओस् भन्ने कुरामा सतर्क रहेको छु,’ मैले देश दुर्घटनामा जाने या पार्टी दुर्घटनामा जाने कुनै गतिविधि हुन नदिन समयसम्म धैर्यतापूर्वक पहल गर्ने विश्वास दिलाउँछु । मैले हतार गरेको भए दुर्घटना या अर्काे के हुन्थ्यो म भन्न सक्दिनँ ।’ 

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली पार्टीभित्र अहिले अल्पमतमा छन् । स्थायी कमिटी बैठकमा बहुमत सदस्यले ओलीको राजीनामा माग गरेका थिए । यस कारण उनले संसदको बर्खे अधिवेशनसमेत हतारमा अन्त्य गरे । पार्टी फुटाउने अध्यायदेश ल्याउन संसद अधिवेशन अन्त्य गरेको भनी  धेरैले बुझेका छन् ।

आफूहरुले बहुमतको निर्णयबाट ओलीलाई राजीनामा गराउन बाध्य  गराएको भए उनले पार्टी फुटाउने अवस्था रहेको प्रचण्डले दाबी गरे । अध्यक्ष दाहालले नेकपा फुटाउन चाहनेले आफूलाई र प्रधानमन्त्री ओलीलाई उचाल्ने गरेको बताइरहे । तर, कसले उचाल्यो उनले खुलाएनन् । ‘मैले हतार गरेको भए दुर्घटना या अर्काे के हुन्थ्यो म भन्न सक्दिनँ,’ ओलीले पार्टी फुटाउन लागेको चर्चाको विषयमा उनले बोले ।

अध्यक्ष दाहालको यो अभिव्यक्तिलाई लिएर थप शंका पैदा भएको भने टिकाटिप्पणीसमेत हुन थालेको छ । प्रधानमनत्री ओलीले आफ्नोविरुद्धमा भारत लागेको बताउँदा आलोचना भएको थियो । तर, सार्वजनिक कार्यक्रममै प्रचण्डले ‘नेकपा फुटाउन चाहनेले आफूलाई र प्रधानमन्त्री ओलीलाई उचाल्ने गरेको’ बताएपछि ओली पक्षका केही नेताले थप शंका गरेका छन् ।

यद्यपि कोरोना महामारीका बेलामा सत्ताधारी दलको किचलो उत्कर्षमा पुगेको बेला देशमा बाढी पहिरोको प्रकोप निम्तिँदा नेकपाका दुई अध्यक्षको विवादले ब्रेक पाएको बुझिन्छ । अहिले दुई अध्यक्षबीच सम्बन्ध सुधार भएको प्रचण्डले नै बताएका छन् । प्रचण्डले प्रधानमन्त्री ओलीसँग सम्बन्ध सुधार भएकोसमेत जनाउ दिए । ‘मैले प्रधानमन्त्री ओलीसँग चितवन पुगेर आउँछु भनेँ, उहाँले एकदम ठीक सोच्नुभयो भन्नु,’भो । अनि मात्रै म चितवन आएँ,’ उनले भनेका छन् ।

बैठक अझै अनिश्चित

विभाजनको संघारमा पुगेका नेता केही नजिकिए पनि पार्टी  स्थायी कमिटीको बैठक भने अन्योलै  छ । साउन २ गते बस्ने गरी स्थगित गरिएको भनिएको छ । तर, पनि सो समितिमा  बैठक बस्छ कि बस्दैन कुनै ग्यारेन्टी नभएको स्थायी कमिटीका सदस्यहरु बताउँछन् । नेता बेदुराम भुसाल भन्छन्,  ‘पार्टीभित्र देखिएका विवादबारेमा दुई अध्यक्षबीच एकमुष्ठ सहमति खोज्ने भन्दै  बैठक सारिएको हो, यसबीच एक अध्यक्ष चितवन र अर्का अध्यक्ष काठमाडौं हुनुहुन्छ । दुई अध्यक्षबीच छलफल नै हुन नसकेका कारण फेरि घोषित मितिमा बैठक बस्नेमा आशंका बढेको छ ।’

देशभर आएको बाढीपहिरोको कारण देखाउँदै बैठक स्थगित गरिएको हो । तर, पनि नेकपाका अधिकांश स्थायी कमिटी सदस्य काठमाडौंमै छन् । बाढीपहिरोबाट पीडितको उद्धार तथा राहतमा खटिन नेकपा केन्द्रीय कार्यालयले नेता तथा कार्यकर्तालाई निर्देशन दिएको थियो । पार्टीका शीर्ष नेतामध्ये प्रचण्ड  आफ्नो चुनावी क्षेत्र चितवन गए पनि अरु नेता काठमाडौंमा छन् ।


कस्तो लाग्यो ?

यो पनि