बैशाख २०, २०८१, बिहीबार
               

एमसीसी सम्झौताको म्याद थप्ने गृहकार्य गर्दै सत्तारुढ दल नेकपा

नेपाल फ्ल्यास
असार ११, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनीष्ट  पार्टी (नेकपा) ले एमसीसी सम्झौताको म्याद थप्ने गृहकार्य गरेको छ । उक्त एमसीसी परियोजना आगामी असार ६ गतेसम्म संसदबाट अनुमोदन नहुने भएपछि कम्युनीष्ट सरकारले परियोजना कार्यान्वयन सुरु हुने म्याद थप्ने गृहकार्य थालेको हो । सरकारले एमसीसीका पदाधिकारीसँग छलफल थालेर एमसीसी परियोजनाको म्याद थप्ने गरी परामर्श अघि बढाएको छ ।

बुधबार मन्त्रालयमा अर्थमन्त्री युवराज खतिवडाले नेपालका लागि एमसीसीका आवासीय निर्देशक ट्रोय कोफरोथसँग यसबारे छलफल गरेका हुन् । छलफलमा कोफरोथले यसबारे एमसीसी मुख्यालयका पदाधिकारीसँग छलफल गर्ने प्रतिबद्धता जनाएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

सभामुख अग्नि सापकोटाले मंगलबार संसद्को बजेट अधिवेशन असार १७ गतेसम्म स्थगन गर्ने घोषणा गरिसकेकाले त्यसअघि एमसीसी परियोजना संसदबाट अनुमोदन नहुने पक्काजस्तै भएको छ । परियोजना कार्यान्वयनमा जानु अघि सम्झौता संसदबाट अनुमोदन हुनुपर्ने सर्त रहेकाले सम्झौताको समय बढाउन लागिएको छ ।

सम्झौताका अन्य सर्तहरुमा अन्तरदेशीय प्रसारण लाइन निर्माण तथा सञ्चालनको मोडालिटीमा भारतसँग सहमति लिनुपर्ने, प्रसारण लाइन निर्माण स्थलमा पहुँच तथा मुआब्जा वितरण भइसक्नु पर्ने, विद्युत् नियमन आयोग गठन गर्नुपर्ने र परियोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्नुपर्ने रहेका छन ।

एमसीसी सम्झौता कार्यान्वयनमा जानु अघि यी पूर्वसर्त पूरा भएको सूचना सरकारले एमसीए नेपाललाई दिनुपर्छ । सम्झौता कार्यान्वयनका लागि सरकारले गठन गरेको एमसीए नेपाल र सरकारबीच भएको सहमति अनुसार यसअघि असार १६ देखि परियोजना कार्यान्वयन सुरु हुने सहमति भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि