जेठ ०२, २०८१, बुधबार
               

नक्सासम्बन्धी संशोधन विद्येयक राष्ट्रियसभाबाट पनि पारित
राजपत्रमा प्रकाशनपछि संशोधनको औपचारिक प्रक्रिया पूरा हुने

नेपाल फ्ल्यास
असार ०४, २०७७

ADVERTISEMENT

सरकारले संविधानको निशान छापमा रहेको नक्सा परिवर्तनका लागि दर्ता गरेको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ । राष्ट्रियसभामा कुल रहेको ६० जना मध्ये एक जना राष्ट्रिय सभाका अध्यक्ष रहेका छन् । बाँकी ५७ जना सांसदमध्ये, नेपालको संविधान (दोस्रो संशोधन) पारित गरियोस् भन्ने पक्षमा सबै अर्थात् ५७ मत परेको  छ । यो सँगै सर्वसम्मत पारित भएको छ ।

यसअघि, उक्त विधेयक प्रतिनिधिसभाबाट पनि सर्वसम्मतले पारित भएको थियो । मतदानमा उपस्थित २ सय ५८ जनाले नै विधेयकको पक्षमा मतदान गरेका थिए । नेपालको भू–भाग लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र समावेश भएको चुच्चे नक्सालाई आधिकारिक बनाउन सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेको हो ।

बिहीबारको बैठकमा कानुनमन्त्री शिवमाया तुम्वाहाङ्फेले राष्ट्रियसभाको बैठकमा प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक,२०७७ माथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेकी हुन् । यसअघि नै संशोधन र विचार गरियोस् भन्ने प्रस्ताव पेस भइसकेको थियो ।

यसरी सङ्घीय संसद्को दुवै सदनबाट पारित भएको विधेयकलाई प्रतिनिधिसभाका सभामुखले प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाउने छन् । प्रमाणीकरण हुँदै राजपत्रमा प्रकाशित भएपछि संविधान संशोधनको औपचारिक प्रक्रिया पूरा हुनेछ ।

यसरी अघि बढ्यो घटनाक्रमः

जेठ ५ : मन्त्रिपरिषद्को बैठकद्वारा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटिएको नयाँ नक्सा पारित ।

जेठ ७ :  मन्त्री पद्मा अर्यालद्वारा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटिएको नेपालको अद्यावधिक नक्सा सार्वजनिक ।
 
जेठ ९ :  निशान छाप परिवर्तनका लागि संविधान संशोधन गर्ने मन्त्रिपरिषद्को निर्णय ।

जेठ ९ : सरकारद्वारा संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता ।

जेठ १८ : ‘प्रतिनिधिसभा बैठकमा कानुनमन्त्री डा शिवमाया तुम्वाहाङ्फेद्वारा नेपालको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ पेश ।

जेठ १९ : जसपाका दुई सांसद राजेन्द्र श्रेष्ठ र लक्ष्मणलाल कर्णद्वारा संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता ।

जेठ २० : नेपाली कांग्रेसका ८ सांसदद्वारा संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता ।

जेठ २१ : राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलद्वारा संघीयता खारेजीको प्रस्ताव गरिएको संविधान संशोधनको प्रस्ताव संसद सचिवालयमा दर्ता ।

जेठ २३ : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालद्वारा संविधान संशोधन प्रस्ताव दर्ता । सबैलाई सैनिक तालिमको प्रस्ताव ।

जेठ २७ : ‘नेपालको सविधान दोस्रो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत। संशोधनका लागि सांसदहरुलाई ७२ घण्टाको समय उपलब्ध ।

 जेठ २८ :  सांसद सरिता गिरीद्वारा संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता । 

जेठ ३१ : संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित ।  

जेठ ३२ : विधेयक राष्ट्रियसभामा पेश। संशोधनका लागि ७२ घण्टाको समय उपलब्ध ।

असार ४:  संविधान संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित ।


कस्तो लाग्यो ?

यो पनि