काठमाडौं । प्रमुख नेपाली कांग्रेसले सामूहिक बलात्कारको घटनालाई निन्दनीय र गम्भीर भएको बताएको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कैलालीको एक क्वारेन्टाइनमा भएको सामूहिक बलात्कारको घटनालाई लक्षित गर्दै सोमबार यस्तो बताएको हो ।
एक विज्ञप्ति जारी गर्दै कांग्रेसले यस्तो घटनामा जोकोही सामेल भए पनि छाड्न नुहुने बताएको छ ।
‘कैलालीको घटनामा दोषीलाई कानुनी कारबाहीसँगै क्वारेन्टाइनको बेथितिमा सरकारले आफ्नो अयोग्यताको अनुहार हेर्न जरुरी छ,’ सो विज्ञप्तिमा भनिएको छ, ‘मापदण्डविपरीत अव्यवस्थित क्वारेन्टाइन कोरोना संक्रमण विस्तारको केन्द्र बन्दै गएका छन् ।’
साथै, कांग्रेसले क्वारेन्टाइन व्यवस्थित हुन नसक्दा नागरिक भागेको बताएको छ ।
त्यसैगरी सो विज्ञप्तिमा क्वारेन्टाइनमा बलात्कारसम्मको घटनाले कम्युनिस्ट सरकारको शासकीय क्षमताको अनुहारमा कालो पोतिएको उल्लेख छ ।
‘हामीसँग तीन तहका सरकार छन्, तर क्वारेन्टाइनमा एउटा चेलीको रक्षा गर्न असमर्थ बन्छन् भने योभन्दा लज्जास्पद घटना अर्को के हुनसक्छ, विज्ञप्तिमा भनिएको छ, ‘क्वारेन्टाइनको व्यवस्थापन र सुरक्षा सम्बन्धमा गम्भीर लापरबाही गर्नेहरुको नैतिक जिम्मेवारी यो घटनामा गाँसिन्छ कि गाँसिन्न ।’
कांग्रेसले बलात्कारमा सामेललाई कानुनी कारबाहीसँग घटनाको गम्भीर समीक्षा गरेर राज्यको जिम्मेवार पदमा रहेर गैरजिम्मेवार बन्नेहरुलाई दोषको मात्राअनुरुपको विविध कारबाही गर्न माग गरेको छ ।