काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकबाट नेपालको संविधान (दोस्रो) संशोधनमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहित नेपालको नक्शा अङ्कित निशान छाप दुई तिहाइ बहुमतबाट पास भएको खुशियालीमा देशका विभिन्न स्थानमा आज साँझ दीप प्रज्वलन गरिएको छ ।
विराटनगरमा राष्ट्रिय युवा सङ्घ र अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन मोरङद्वारा आयोजित उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य गुरु बराल, महेश रेग्मी, प्रदेशसभा सदस्य सावित्रा रेग्मी, मोरङ अध्यक्ष ऋषिकेश पोखरेल, सचिव गणेश उप्रेतीलगायत नेता कार्यकर्ताले नेपालको नक्शामा मैनबत्ती बाली दीप प्रज्वलन गरेका थिए । सो अवसरमा सर्वसाधारणले पनि दीप प्रज्वलन गरेका थिए ।
साथै पर्साको वीरगन्जमा पनि दीपावली गरिएको छ। खुसीयालीमा वीरगन्जको घण्टाघर चोकमा युवाले दीपावली गरेका हुन्। नेपाल सरकार र प्रतिनिधि सभाले गरेको यो कदम सह्रानीय भएको उनीहरुले मुक्तकण्ठले प्रशंसा गरेका छन् ।
त्यस्तै तनहुँकाे दमौलीस्थित मुख्यचोकमा दीप प्रज्वलन गरिएकाे छ । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठले संविधान संशोधन विधेयक पारित भएका दिन नेपाली जनताका लागि गर्वको दिन रहेको बताउँदै भारतले कब्जा गरेको भूमि फिर्ता ल्याउन नेपाली जनता एकजुट हुनुपर्ने बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एकबहादुर रानाले भारतसँग कूटनीतिक वार्ता गरेर गुमेको भूमि फिर्ता गर्नुपर्नेमा जोड दिए ।
स्याङजाकाे सदरमुकामस्थित शहिद चोकमा दिपावली गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष सूर्यप्रसाद गैह्रे पारले जानकारी दिए । यसैगर वालिङ उद्योग वाणिज्य सङ्घले पनि दिपावली गरेको छ ।
जिल्लाका सर्वसाधारण एवं विभिन्न सङ्घसंस्थाले समेत आज प्रतिनिधिसभाबाट सर्वसम्मतरुपमा नेपालको संविधानको दोस्रो संशोधन पारित भएर भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्शाका साथै निशान छाप संविधानमा समेट्नका लागि गरिएको संविधान संशोधनको प्रस्ताव सर्वसम्मतरुपमा पारित भएको खुशियालीमा जिल्लामा दिपावली गरेका हुन् ।