कात्तिक १६, २०८१, शुक्रबार
               

प्रचण्डको आक्रोश : भारतले नेपाली सार्वभाैममाथि चुनौती दियो
राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याउँदै छ

नेपाल फ्ल्यास
जेठ ३१, २०७७

ADVERTISEMENT

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्र कालमा गुमाएको भूमि नेपालले गणतन्त्र शासन व्यवस्थामा फिर्ता लिन लागेको बताएका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै उनले गुमेको भूमि फिर्ता ल्याउन संविधान संशोधन हुनु नेपालको लागि राष्ट्रिय स्वाधीनताको विषय भएको बताए । प्रतिनिधिसभामा भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रलाई समेटेर जारी गरेको नेपालको नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्नका लागि ल्याइएको संविधान संशोधन विधेयकको दफावार छलफलका क्रममा प्रचण्डले यस्तो बताएका हुन् ।

‘खबरदार राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याउँदै छ, नेपाली जनतालाई भ्रम छर्ने काम नहोस्’ प्रचण्डले पटक–पटक भने । भारतको तर्फबाट नक्सा प्रकाशित भए लगतै आफूहरू सुगौली सन्धि अनुसार आफ्नो भूमि भएको नक्सा प्रकाशित गर्ने तयारीमा लागेको सुनाए । ‘मैले र प्रधानमन्त्रीजीले सल्लाह गरेर भारतसँग वार्ता गर्नुपर्छ भनेर निर्णय गरेका थियौँ, वार्ता गरौँ भनेर जिम्मेवारी भाषामा स्ट्रङ्ली भारतलाई भनेका थियौँ ,’ प्रचण्डले भने, ‘पटक–पटक चिठ्ठी पठाए पनि वार्ताको जवाफ आएन । बरु एकजना जिम्मेवार मन्त्रीबाटै नेपाली भूमिमा बाटो बनाएर उद्घाटन भयो । यता हामीले वार्ता गरौँ भन्दा भारतले उल्टै नेपाली भूमिमा बाटो बनाएर हामीलाई उत्तेजित बनायो ।’

भारतले नेपाली सार्वभौम सत्तामाथि चुनौती दिएको समेत प्रचण्डले टिप्पणी गरे । उनले भने ‘यो मुद्दालाई समाधान नहुने दिशामा कोही पनि छैन, बरु समाधान गरौँ भन्ने पक्षमा छौँ । यो परिस्थिति आउनै नदिनको लागि हामीले पहल गरेका थियौँ । तर, भारतले चाहेन, यसलाई हामीले भारतले नेपाली सार्वभौम सत्तामाथि चुनौती दिएको रूपमा बुझेका छौँ ।’

प्रचण्डले भारतसँग दुस्मनी नभई मित्रता चाहेको पनि बताए । ‘सांसदबाट यो निर्णय सर्वसम्मत हुनु भनेको भारतसँग दूरी बढाउनु होइन, भारतलाई छलफलको लागि घचेटाउनु हो ,’ उनको भनाइ थियो ।

प्रचण्डले आफ्नो पार्टी नेकपाको तर्फबाट  भारतसँग असल मैत्रीको नयाँ चरणको लागि वातावरण बनोस् भन्ने चाहना रहेको बताए । उनले भने, ‘समस्याको समाधान संवाद र वार्ताबाटै हुने हो । नेपाली जनताको चाहनालाई भारतले राम्रोसँग विचार गरिदियोस् भन्ने हाम्रो सन्देश हो, यो मुद्दा चर्काएर कसैलाई फाइदा छैनौँ भन्नेमा छौँ, हामी ‘बच्कना आवेगमा’ छैनौँ, निहित स्वार्थका लागि संवेदनशील विषयमा खेलवाड गर्ने नेतृत्व हैनौँ ।’ 


कस्तो लाग्यो ?

यो पनि