प्रदेश ५ सरकारले सबै कोरोना संक्रमितलाई अस्पतालमा राखी उपचार नगर्ने बताएको छ ।
प्रदेश ५ को शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले कोरोना संक्रमितको संख्या अधीक भएकाले कोरोनाका लक्षण देखिएकालाई मात्रै अस्पतालमा राख्ने र लक्षण नदेखिएकालाई अस्पतालबाहिर आइसोलेसनमा राख्ने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले ठूलो संख्यामा नतिजा आउन बाँकी रहेकाले सरकार अब सबैलाई कोरोना अस्पतालमा राखेर उपचार गर्न नसक्ने निचोडमा पुगेको बताए ।
प्रदेशमा अझै करिब आठ सय स्वाब पीसीआर परीक्षणको पालो पर्खेर बसेको बताउँदै चौधरीले कोरोना विशेष अस्पतालमा राखेर उपचार गर्न नसकिने बताए ।
प्रदेशले कोरोनाका लक्षण देखिएकालाई मात्र अस्पतालमा राख्ने, तर लक्षण नभएकालाई आइसोलेसन सेन्टरमा मात्रै राख्ने नीतिअनुसार आइसोलेसनको मापदण्ड स्वीकृत गरेको पनि उनले बताए ।
प्रदेशमा रहेका कोरोना संक्रमित चार अस्पतालका दुई सय ३२ आइसोलेसन बेड कोरोना संक्रमित बिरामीले भरिएको बताइएको छ ।
बैठकले जिल्लास्तरीय, स्थानीय तहस्तरीय र सेल्फ आइसोलेसन सेन्टरको मापदण्ड स्वीकृत गरी बुटवल, भैरहवा, दाङ र नेपालगञ्जमा कोरोना विशेष अस्थायी अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।
हाल प्रदेशका स्थानीय तहमा बनाइएको ३ सय ५९ आइसोलेसन सेन्टरमा २ हजार ५९ बेड छन् ।