बैशाख २०, २०८१, बिहीबार
               

आफ्नो पक्षमा बहुमत नभएपछि बैठक टार्दै केपी ओली
ओली–प्रचण्ड पक्ष गुटगत छलफलमा

नेपाल फ्ल्यास
जेठ २९, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा एमसीसीबारे छलफल गर्न बस्ने भनिएको सचिवालय बैठक अनिश्चित भएपछि गुटगत भेला पुन सुरु भएको छ । सचिवालयमा आफ्नो बहुमत नपुग्ने भएपछि बैठक टार्दै आएका प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली आन्तरिक रणनीति बनाउँदै छन् । उता ओलीले बैठक बोलाउन आलटाल गरेको भन्दै असन्तुष्ट अर्का अध्यक्ष पुष्पकमल दाहाल छुट्टै छलफलमा जुटेका छन् ।

मुलुकका जल्दाबल्दा धेरै विषयमा छलफल गर्नुपर्ने भए पनि अध्यक्ष तथा प्रधानमन्त्री ओलीले बैठक बोलाउन आलटाल गरेपछि शीर्ष नेताहरू नै ओलीको व्यवहारबाट चिढिन पुगेका छन् । परिणाम स्वरूप वरिष्ठ नेता माधवकुमार नेपाल र बामदेव गौतमसमेत अध्यक्ष प्रचण्डसँग गुटगत भेलामा मिसिन पुगेका छन् ।

पछिल्लो समय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने की नगर्ने भन्ने विषयमा छलफल गर्न बोलाइएको सचिवालय बैठक पटक पटक स्थगित हुँदै आएको छ । प्रधानमन्त्री ओलीकै अनिच्छाको कारण सर्दै आएको सो बैठक, पारित गर्ने भए मात्र बोलाउने पक्षमा ओली छन् । यसअघि जेठ २७ गते ओलीले एमसीसी पारित गर्ने भए मात्र सचिवालय बैठक बसौँ भन्दै अर्का अध्यक्ष प्रचण्डलाई फोन गरेका थिए । ‘पहिला बैठक बसौँ, त्यसले जे निर्णय गर्छ, त्यो स्वीकार गरौँला’ भनेर प्रचण्डले जवाफ फर्काएपछि ओलीले बैठक स्थगित गरेका थिए ।

पूर्वनिर्धारित बैठक अचानक स्थगित गरेपछि प्रचण्ड निवास खुमलटारमा उनीसहित वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र बामदेवगौतमबीच २ घण्टा छलफल भएको थियो । छलफलमा ओलीले बैठक छल्दै गएमा आफूहरूले तय गर्नुपर्ने रणनीतिको विषयमा छलफल भएको खुमलटार स्रोतले बताएको छ । 

त्यसयता पनि ओलीले बैठक बोलाउन चासो नदिँदा खुमलटारामा बैठक र भेटघाट बाक्लिएको स्रोतको दाबी छ । नेकपा प्रचण्ड निकट एक नेताले नेपाल फ्ल्याससँग भने ‘आफूअनुकुल नभएसम्म बैठक नबोलाउने ओलीको पुरानै बानी भएको भन्दै, दबाब दिनको लागि के गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ ।’

सचिवालय मात्र होइन ओलीकै अनिच्छाका कारण लामो समयदेखि स्थायी समिति बैठक समेत बस्न सकेको छैन । २० जना स्थायी समिति सदस्यहरूले गत वैशाख १० गते विधान अनुसार बैठक बोलाउन माग गर्दै अध्यक्षलाई पत्र नै लेखेका थिए । तर डेढ महिना वितिसके पनि ओलीले त्यसतर्फ कुनै चासो नदेखाएको नेताहरूको गुनासो छ । 

स्थायी कमिटी सदस्य भीम रावल भन्छन् ‘एक दुई साता केही विशेष कारणवश बैठक सार्न सकिएला , तर यसरी सधैँ टारिरहन मिल्दैन । बैठक नै नबस्ने, छलफल नै नगर्ने, पार्टीलाई अनिर्णयको बन्दी बनाएर कति दिन राख्ने ?’ आफूहरू भने निरन्तर दबाब दिइरहेको उनले बताए ।

यता प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली एमसीसी सांसदबाट अनुमोदन गर्नुअघि पार्टीमा एकमत बनाउने रणनीतिमा छन् । तर केन्द्रीय समिति र स्थायी समितिमा समेत चर्को विरोध भएको एमसीसीबारे सचिवालयका बहुमत सदस्य ओलीको विपक्षमा छन् । अहिले नेकपाको नौ सदस्यीय सचिवालयमा महासचिव विष्णु पौडेल र ईश्वर पोखरेल मात्रै ओलीको पक्षमा देखिन्छन् । प्रचण्डको पक्षमा वरिष्ठ नेताहरू नेपाल, खनाल, अर्का नेता गौतम र  प्रवक्ता श्रेष्ठ एकातर्फ छन् । अर्का सदस्य रामबहादुर थापा बादल कुनै गुटमा खुलेका छैनन् । पारित हुने देखिएमा उनले ओलीलाईकै साथ दिनेछन् । यसैले ओलीले एमसीसीमा छलफल गर्नुअघि गौतमलाई आफ्नो पक्षमा पार्न भरमग्दुर प्रयास गरिरहेका छन् ।

पछिल्लो समय ओली जसरी पनि एमसीसी पास गर्नु पर्छ भन्दै आएका थिए । अन्य सचिवालय सदस्य भने जस्ताको त्यस्तै नभई परिमार्जनसहित पास गर्नुपर्छ लाइनमा छन् । नेकपाले माघमा बसेको केन्द्रीय कमिटीको बैठकबाट एमसीसी अध्ययन गरेर प्रतिवेदन बुझाउन तीन सदस्यीय कार्यदल बनाएको थियो । उक्त कार्यदलले लामो प्रतिवेदन पार्टीलाई बुझाएको छ । तर उक्त प्रतिवेदनबारे पनि नेकपामा अहिलेसम्म छलफल भएको छैन । 


कस्तो लाग्यो ?

यो पनि