समाजवादी पार्टीले निशान छापमा नयाँ नक्सा समेट्न सरकारले ल्याएको संशोधनमाथि संशोधन प्रस्ताव दर्ता गराएकी सरिता गिरीलाई फिर्ताको लागि पार्टीले निर्देशन दिएको छ ।
समाजवादी पार्टी र राजपा नेपाल मिलेर जनता समाजवादी पार्टी बने पनि अहिलेसम्म दुवै दलले सांसदभित्र एउटै दलको मान्यता पाएका छैनन् । दुवै दलका फरक फरक संसदीय दल रहेको छ । र दुवै दलका फरक फरक सचेतक रहेका छन् ।
समाजवादी पार्टीका प्रमुख सचेतक उमाशङ्कर अरगरियाले पार्टीका तर्फबाट गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन् ।
फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको समेतक अरगरियाले बताए । उनले नेपाल फ्ल्याससंग भने, ‘हामीले संसदीय दललाई नसोधीकन दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका छौँ, फिर्ता नलिए पार्टीका तर्फबाट कारबाही हुन्छ ।’
यदि गिरीले प्रस्ताव फिर्ता नलिए के कारबाही हुन्छ ? भन्ने प्रश्नमा उनले पार्टीमा छलफलपछि निर्णय हुने बताए ।
पछिल्लो समय भारतको पक्षमा खुलेआम वकालत गर्दै आएकी पार्टीको सासंद गिरीको विषयमा धारणा बनाउन सो दलको ससंदीय दलको बैठक अहिले जारी छ । गिरीले नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्न सरकारले ल्याएको विधेयकको विरोध जनाएकी थिइन् ।
उनले संशोधनमा लिम्पियाधुरा र कालापानी समेट्न स्रोत र प्रमाण नखुलेको बताएकी थिइन् । त्यसअघि प्रतिनिधिसभा बैठकमा समेत उनले त्यस्तै धारणा राखेपछि सांसदहरू उनीविरूद्ध खनिँदै आएका छन् । गिरीले लिम्पियाधुरा र लिपुलेक लगायतका भू–भाग नेपालको भएको भन्ने प्रमाण नभएको बताउँदै भारतको पक्षमा वकालत गर्दै आएकी छिन् ।