काठमाडौं । संसद्को जारी बैठकमा संविधान संशोधन प्रस्तावमाथि प्रतिनिधिसभामा सैद्धान्तिक छलफलमा भाग लिने सबै दलका सांसदले सरकारलाई धन्यवाद दिएका छन् । लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छाप परिवर्तन सम्बन्धी संविधान संशोधन प्रस्तावमाथि प्रतिनिधिसभामा सैद्धान्तिक छलफल जारी छ ।
अहिलेसम्म संविधान संशोधन विधेयकबारे मौन रहेको संसद्को तेस्रो ठूलो दल जनता समाजवादी पार्टीले समेत समर्थन जनाएको छ । प्रतिनिधिसभाको मङ्गलवारको बैठकमा कानूनमन्त्री डा.शिवमाया तुम्बाहाम्फेले संविधान संशोधन विधेयक सैद्धान्तिक छलफलका लागि प्रस्तुत गरेकी हुन् । छलफलमा भाग लिँदै सांसदहरूले संविधान संशोधनसँगै अब भूमि फिर्ताका लागि पनि सरकारलाई साथ रहने बताए ।
छलफलमा भाग लिँदै जनमोर्चाकी दुर्गा पौडेल र नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले विधेयक ल्याएकोमा सरकारलाई धन्यवाद दिँदै भूमि फिर्ताको लागि अग्रसर हुन प्रधानमन्त्रीलाई आग्रह गरे । सत्तारुढ दलका नेताहरू गोपाल बम, राजेन्द्र गौतम, सोमप्रसाद पाण्डे, राम कुमारी झाँक्री, गणेश सिंह ठगुन्नालगायते सरकारलाई धन्यवाद दिएका छन् ।
नेकपाका सांसद खगराज अधिकारी, काँग्रेसका गगन थापालगायतले यसअघि संसद्मा पेस गरेका सङ्कल्प प्रस्तावलाई संयुक्त रूपमा छलफल गराएर पारित गराउनसमेत माग गरेका छन् ।