जेठ ०९, २०८१, बुधबार
               

‘सर्वज्ञानी मै हुँ’ भन्ने प्रधानमन्त्रीको अहंकारले महामारी फैलियो: थापा

नेपाल फ्ल्यास
जेठ २७, २०७७

ADVERTISEMENT

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना महामारी रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आक्रोश पोखेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद थापाले प्रधानमन्त्रीको अहंकारले यस्तो भएको आरोप लगाए ।

‘सर्वज्ञानी मै हुँ’ भन्ने प्रधानमन्त्रीको अहंकार र सरकारको अकर्मण्यताका कारण कोरोना महामारीले विकराल रुप लिन थालेको थापाको टिप्पणी थियो ।

उनले अहिलेसम्म कोरोना नियन्त्रणमा सरकारलाई सहयोग गरिरहेको कांग्रेसले अब एक–एक प्रश्नको जवाफ माग्ने बताए । ‘यो सरकारले कोरोनाको लडाईँबाट पार लगाउन सक्दैन। अब हामी प्रश्न गर्छाैँ, उत्तर माग्छौँ, सरकारलाई जवाफदेही बनाउँछौँ ’, थापाले भने ।

उनले पाँचवटा पीसीआर मेसिन र २५ हजार किट किनेर १० अर्बको हिसाब देखाउने सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए । ‘पाँचवटा मेसिन किन्ने, अनि २५ हजार किट किनेर १० अर्बको हिसाब देखाउने, हामी एक-एक हिसाब माग्छौँ’, आक्रोशित हुँदै उनले  भने । थापाले कोरोना रोकथामका लागि बनाइएका क्वारेन्टिन सेन्टरलाई मान्छे मार्ने क्याम्पको रुपमा चित्रण गरे ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा पनि ‘विनियोजन विधेयक २०७७’ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि छलफलमा उठेका विषयबारे सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम जारी छ । मंगलबार बैठकमा ८ मन्त्रीले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिंदैछन् । 

मंगलबार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सम्बन्धित मन्त्रीले जवाफ दिँदैछन् । बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइ, शिक्षा विज्ञान तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, परराष्ट्र, गृह, रक्षा, अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्रीले जवाफ दिने कार्यक्रम छ ।

यसअघि सोमबार १३ मन्त्रालयको बजेट शीर्षकमाथि छलफल भएको थियो । आगामी बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय तथा उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित बजेट शीर्षकमाथि पनि छलफल हुने जनाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि