जेठ ०४, २०८१, शुक्रबार
               

सरकारले कुटी, नाभीलगायत क्षेत्रका लागि छुट्याएन बजेट

नेपाल फ्ल्यास
जेठ २४, २०७७

ADVERTISEMENT

काठमाडौं । बजेट आउनुपूर्व निकै चर्चामा रहेका नाभी, कुटी, नाभीलगायत क्षेत्रलाई सरकारले आउँदो वर्षलाई बजेट छुट्याएको छैन । 

सरकारले जेठ ७ गते यी क्षेत्रलाई नेपालको नक्सा सार्वजनिक गरेको थियो । 

तर, त्यसको एक हप्तापछि आएको आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेटले नेपालका ती गाउँलाई सम्बोधन गर्न सकेको छैन ।

शनिबार प्रतिनिधिसभाको बैठकमा दैलेखका सांसदले सो गाउँलाई बजेटले सम्बोधन गर्न नसकेको भन्दै गम्भीर ध्यानाकर्षण गराएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दैलेख क्षेत्र नं २ का सांसद राजबहादुर बुढा क्षेत्रीले नेपालका चार गाउँ (कुटी, नाभी गुञ्जी र कालापानी) का लागि बजेट किन नआएको भन्दै सदनमा गम्भीर प्रश्न उठाएका छन् । 

सामान्य रुपमा हेर्दा मुलुकको भूमि, बजेट त पक्कै आउनुपर्ने हो तर दशकौँदेखि भारतले अतिक्रमण गरेको क्षेत्रमा एकैचोटि पुग्ने अवस्था नहुनसक्छ । त्यसका लागि कूटनीतिक छलफल अगाडि बढाउनु आवश्यक हुन सक्छ । 

जनताका प्रतिनिधिको सार्वभौम थलो संसद्मा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै बुढाले बजेटमा महत्वपूर्ण कुरालाई सम्बोधन नगरेको प्रसंग जोड्दै भने, ‘नेपालका चार गाउँ (कुटी, नाभी, गुञ्जी र कालापानी) लाई कुनै पनि मन्त्रालयले बजेट विनियोजन गरेन, यसप्रति मलाई दुःख लागेको छ ।’ 

उनले हरेक गाउँलाई एक÷एक रुपैयाँ भए पनि बजेट विनियोजन गरेर पास गर्नसमेत ध्यानाकर्षण गराए । उक्त गाउँ नेपालकै हो भन्ने विषयमा सबै राजनीतिक दलको एउटै मत छ । चीनको आक्रमणबाट आफ्नो मुलुकलाई जोगाउन भारतले सन् १९६२ मा नेपालको अनुमतिमा कालापानी आसपासका क्षेत्रमा सेना राखेको थियो । 

तत्कालीन समयमा १७ स्थानमा सेनाका चौकी थिए । चौकी लिपुलेकबाट १० किलोमिटर वर तिङ्करसम्म ल्याइएको थियो । 

त्यसपछि कालापानी उताको कुटी, नाभी, गुञ्जीलगायत क्षेत्रमा भारतले कब्जा जमाउँदै आएको छ । 

यद्यपि सरकारको जेठ ५ गतेको निर्णयअनुसार ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ती गाउँसहित लिपुलेक र लिम्पियाधुरासम्मकै भू–भाग समेटेर नेपालको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गर्‍यो । 

सन् १८१६ को सुगौली सन्धिको धारा ५ मा नेपालको पश्चिमी सिमाना महाकाली नदी निर्धारण गरिएको छ । 

इस्ट इन्डिया कम्पनी सरकारले सन् १८५६ पछिको नक्सामा भने लिम्पियाधुराबाट आउने मुख्य काली नदीलाई छाडेर लिपुलेक कालापानीबाट आउने नदीलाई काली लेख्न थालेको थियो ।

भारतले कालापानीस्थित सानो पानीको मुहानलाई कालीको मुहान भनेर भ्रम सिर्जना गर्दै आएको छ । 

त्यसकारण कुटी, नाभी, गुञ्जी र कालापानीसहित ३८५ (कतै ३९५÷कतै ३७२ उल्लेख) वर्ग किलोमिटर क्षेत्र अतिक्रमणमा परेको छ । 
विसं २०१८ मा त्यस क्षेत्रमा जनगणना गरेको वरिष्ठ पत्रकार भैरव रिसालले बताउँदै आएका छन् । 

आफैँले मान्दै र भन्दै आएको प्रमाण र नक्सालाई लत्याएर भारतले सधैँ नेपालमाथि ज्यादति गर्दै आएको छ । 

भारतसँग जोडिएको २६ मध्ये २३ जिल्लाका ७२ स्थानमा सीमा विवाद छ । त्यसमध्ये सबैभन्दा धेरै पेचिलो बनेको सीमा विवाद सुस्ता र कालापानी क्षेत्रको हो ।

नेपालको क्षेत्रलाई सन् २०१५ मे १५ मा आफूसुसी भारत र चीनले लिपुलेक भन्ज्याङलाई व्यापारिक नाका बनाउने गरी ४१ बुँदे सम्झौता गरेपछि विवाद थप बल्झिएको थियो ।

सरकारले आपत्ति जनाउँदै कूटनीतिक नोट पठाएको थियो । कात्तिकमा उसले ती भू–भाग समेटेर राजनीतिक नक्सा सार्वजनिक गरेपछि विषय बढी सतहमा आएको थियो । 

गत वैशाख २६ गते भारतका रक्षामन्त्री राजनाथ सिंहले सेनाका उच्च अधिकारीसमेत राखेर नेपालको भूमि अतिक्रमण भएका क्षेत्रबाट निर्माण गरिएको सडक उद्घाटन गरेपछि विगतदेखि नै विवादित बन्दै आएको सो क्षेत्रको विषय पुनः सतहमा आयो ।

सोही कारण नेपाल आफ्नो भू–भाग समेटेर नक्सा परिवर्तन गर्नेसम्ममा आइपुग्यो । 

सरकारले अद्यावधिक नक्सासहित निशान छाप परिवर्तन गर्न संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता गरिसकेको छ । 

प्रतिनिधिसभाको शनिबारको बैठकमा नेपाली कांग्रेसले मुलुकको पश्चिमी सीमा क्षेत्रमा छोटी भन्सारको स्थापना गर्न माग गरेको छ ।

‘विनियोजन विधेयक २०७७’ माथिको विभिन्न शीर्षकमा सदनमा जारी छलफलमा भाग लिँदै नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडुले चीन र भारतसँगको सीमा क्षेत्रमा आवश्यक छोटी भन्सार निर्माण गरे जनताको जीवनस्तरमाथि उठाउन सहयोग पुग्ने र मुलुकको आर्थिक गतिविधि बढ्ने विश्वास व्यक्त गरे ।

त्यस्ता भन्सारले मुलुकको आर्थिक समृद्धिमा नयाँ आयाम थपिने उनको भनाइ छ । उनले आगामी वर्षको बजेटमा भन्सार सुधार कार्यक्रमका लागि रु ९६ करोड ८७ लाख छुट्याएको भए पनि कहाँ कसरी छुट्याएको र कसरी खर्च गरिन्छ भनेर स्पष्ट नखुलेकाले त्यसलाई प्रष्ट पार्न अर्थमन्त्री डा युवराज खतिवडाको ध्यानाकर्षण गराए । 

उनले भन्सारको स्थापनासँगै सीमा क्षेत्रमा आवश्यक सुरक्षाप्रबन्ध गर्न आग्रह गरे । 

भन्सारका लागि आगामी वर्ष पनि बजेट विनियोजन नगरे ढिला हुनेतर्फ उनले अर्थमन्त्रीको ध्यानाकर्षण गराए । 

बडुले दार्चुला सदरमुकाम खलङ्गामा मात्रै भन्सार कार्यालय रहेकाले नयाँ पुल बनेको क्षेत्रमा पनि भन्सार लैजानुपर्ने बताए । 

त्यसभन्दा उत्तरतर्फ भारतीय सीमा क्षेत्र छाङ्रुको सीतापुल र चीनको सीमा क्षेत्र टिङ्करलगायत नाकामा पनि भन्सार कार्यालय स्थापना गर्न जरुरी रहेको बडुको भनाइ थियो ।

गत वेशाख ३१ गते मात्रै तिङ्कर र छाङरु आसपासको सीमा क्षेत्र हेर्ने गरी छाङरुमा सरकारले सशस्त्रको सीमा निगरानी चौकी स्थापना गरिसकेको छ । त्यहाँ अहिले २५ जना सशस्त्र प्रहरी खटाइएका छन् । 

सरकारले नेपाल प्रहरीको चौकी पनि पुनःस्थापित गरेको छ । बडुले दार्चुलाको व्यास गाउँपालिका–१ मा प्रहरी पुगे पनि सञ्चार सुविधा सञ्चालन नभएकामा समेत सरकारको ध्यानाकर्षण गराए । 

वन तथा वातावरण क्षेत्रका विषयमा सदनमा कुरा उठाउँदै बडुले मुलुकको वन क्षेत्र यकिन गर्न पुनःसर्वेक्षण आवश्यक रहेको औँल्याए । 

वैज्ञानिक वन व्यवस्थापनका नाममा कैलाली, कञ्चनपुरमा व्यापक वन विनाश भइरहेको उनको जिकिर थियो । सामुदायिक वनले गर्ने व्यवस्थापन नै अहिलेको अवस्थामा प्रभावकारी र उपयुक्त रहेको उल्लेख गर्दै उनले कार्बन व्यापारको हिस्सा दिँदा संरक्षित क्षेत्रको योगदानलाई विर्सन नहुनेमा जोड दिए । 


कस्तो लाग्यो ?

यो पनि