रोल्पा । जिल्लामा निर्वाचन जितेपछि धेरै जनप्रतिनिधि राजधानीमै हराउँछन् । कानून बनाउन काठमाडौं हानिने अधिकांश जनप्रतिनिधि जिल्ला भने कमै मात्र फर्कन्छन् । यहाँबाट निर्वाचित पूर्वसांसद लेखनाथ आचार्यले भने यस्ता थुप्रै पात्रभन्दा फरक पहिचान दिएका छन् ।रोल्पा जिल्लाबाट सुरेन्द्र हमालपछि विसं २०५६ मा रोल्पाबाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचन जित्ने उनी दोस्रो व्यक्तित्व हुन् ।
विसं २०५६ को संसदीय निर्वाचनमा रोल्पाको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएसंँगै उनको संसदीय यात्रा सुरु भयो । रोल्पाबाट काठमाडौं जानै सकस । कतिबेला माओवादीको तारो भइने हो कि भन्ने चिन्ता थियो । सांसद निर्वाचित भएपछि जसोतसो उनी रोल्पाबाट काठमाडौं पुगे ।
आचार्य प्रतिनिधिसभा, प्राकृतिक स्रोत साधन समितिका सभापति पनि बने । संसदीय समितिमा रहँदा उनी आफूले प्राकृतिक स्रोत व्यवस्थापनका धेरै जनपक्षीय काम गरेको सम्झन्छन् । ‘जल र जङ्गल जस्ता नेपालका अपार प्राकृतिक स्रोतको उपयोगबाट देशलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने विषयमा छलफल हुन्थ्यो’, आचार्यले भने ।
तत्कालीन अवस्थामा सांसदको मासिक पारिश्रमिक १८ हजार रुपैयाँ हुन्थ्यो । सशस्त्र द्वन्द्वका कारण जिल्लामा बस्न नसकेका कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र तत्कालीन नेकपा (एमाले) का समर्थक, शुभचिन्तक तथा नेताकार्यकर्ता उनको काठमाडौंस्थित डेरामा पुग्थे । जिल्ला फर्कन सक्ने अवस्था नभएका ती नेताकार्यकर्ता महिनौँसम्म काठमाडौंमा उनकै डेरामा बस्थे ।
जिल्लावासीको बसाइ र खानपानमै सांसद आचार्यको तलब सकिन्थ्यो । उनिसंँगै काठमाडौं छिरेका थुप्रै साथीहरु उतैका बासिन्दा भइसकेका थिए । आचार्य भने जनताको दुखःसुखमा साथ दिन जिल्ला फर्किए । जिल्लामा रहेर प्रहरी, प्रशासन, नापी, मालपोत, बैंक, अदालत जस्ता सरकारी अड्डाका झम्झटिला काममा दुखः पाएका जनतालाई सहयोग गर्ने उनको दिनचर्या बन्यो ।
‘टाढाटाढावाट पैदल यात्रा गरे दुःखकष्टका साथ आएका जनतालाई सरकारी कार्यालयका कर्मचारीले समयमा काम नगरिदिँदा समय र पैसाको बर्बाद देखेर मैले उनीहरुको सेवाभावले सहयोग गर्ने काम अहिले पनि निरन्तरता दिइरहेको छु’, आचार्यले भने, ‘कार्यालय खुलेको बेला जनताको दैनिक समस्यामा सहयोग गरेर म मेरो समय उपयोग गर्छु’, ६४ वर्षीय आचार्यले भने ।
कोरोना भाइरसले विश्वव्यापी सन्त्रास फैलाइरहेका बेला गरिएको बन्दाबन्दीमा भने पूर्वविधायक करीब दुई महिनादेखि फुर्सदिलो भएका छन् । उनी अहिले आफ्नै पैत्रिक सम्पत्तिका रुपमा रोल्पा नगरपालिका– २ मा रहेको साढे सात रोपनी खोरिया फाँड्दै छन् । ‘यसअघि कहिल्यै सफाइ गर्न भ्याइएको थिएन, लकडाउनले काम गर्ने साइत जुराइदियो’, उनले भने ।
उनले सो जग्गामा टिमुर र कागती खेती गर्ने योजना बनाएका छन् । कागती खेतीका लागि जमीन, माटो र हावापानी उपयुक्त छ कि छैन भनेर नगरपालिकाका कृषि प्राविधिकलाई पनि उनले देखाइसकेका छन् । टिमुर खेतीको सम्भाव्यताका लागि वन प्राविधिकबाट पनि जाँच गराउने योजना रहेको आचार्यले सुनाए ।
मेहनत गर्न लाज मानेकै कारण देशको ठूलो युवा जनशक्ति विदेशिनुपरेको उनको बुझाइ छ । जमीन सबै बाँझिएका छन् । आफ्नो जग्गामा छिटो प्रतिफल दिने बोटबिरुवा रोपेर आत्मनिर्भर बन्न सकिने ठानेर आफूले काम सुरु गर्ने सोच बनाएको उनले बताए ।
यसका लागि सरकारले वास्तविक किसानलाई अनुदान र प्राविधिक सहयोग दिनुपर्नेमा राजनीतिक पहुँचका आधारमा वितरण गर्दा वास्तविक किसान मर्कामा परेको आचार्यको गुनासो छ । ‘युवाहरुलाई नेताहरुले बाटो देखाउनुपर्छ, सबै राजधानीमै बस्दा गाउँ बाँझै हुन्छ, अब देशमा कृषिक्रान्ति गरेर मुलुकलाई समृद्ध बनाउनुपर्छ’, उनले भने ।