जेठ ०३, २०८१, बिहीबार
               

राजासहितको लोकतन्त्र र हिन्दुराष्ट्रको पक्षमा क्रियाशील हुन अध्यक्ष थापाको अपिल

नेपाल फ्ल्यास
जेठ १५, २०७७

ADVERTISEMENT

काठमाडौँ । राप्रपा अध्यक्ष कमल थापाले राजसंस्थासहितको लोकतन्त्र र सनातन हिन्दुराष्ट्रको धरातलमा सबल र सम्बृद्ध नेपाल निर्माण गर्ने आफ्नो पार्टीको प्रमुख अभिभारा रहेको बताएका छन् ।

पार्टी स्थापना दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै अध्यक्ष थापाले सो अभिभारा पूरा गर्न संगठन निर्माण र जनताको विश्वास जित्ने गरी काम गर्न कार्यकर्ताहरूलाई आह्वान गरेका छन् ।

मुलुकलाई बलियो वैकल्पिक शक्तिको खाँचो रहेको जनाउँदै उनले राप्रपा त्यो शक्ति बन्ने दाबीसमेत गरेका छन् ।

हेर्नुस् अध्यक्ष थापाको सन्देश

आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरू !

आजको दिनबाट राष्ट्रिय प्रजातन्त्र पार्टीले ३० वर्ष पुरा गरी ३१ औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा राप्रपालाई माया गर्नुहुने देश विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूमा सादर आभार व्यक्त गर्दछु ।

पार्टीका संस्थापक नेताहरू तथा पार्टीको आदर्श प्रति प्रतिबद्ध रहेकै कारण शहादत प्राप्त गरेका महान् शहीदहरू प्रति हार्दिक अभिनन्दन तथा श्रद्धाञ्जली अर्पण गर्दछु ।

अनेकौँ उतारचढावको बाबजुद कत्ति पनि विचलित नभई पार्टीलाई वर्तमान अवस्था सम्म ल्याउन योगदान पुराउन क्रियाशील पार्टीका साथीहरूमा हार्दिक बधाई तथा शुभकामना दिन्छु ।

स्थापनाकालदेखि पटकपटक टुटफुटको श्रृंखलाबाट गुज्रेको राप्रपा अब कहिल्यै नफुट्ने बाचाबन्धन सहित एकताबद्ध भएको छ ।

देशलाई अहिले एउटा बलियो वैकल्पिक शक्तिको आवश्यकता  रहेको छ । यस्तो शक्ति जो राष्ट्रवादी होस्, जसले मन वचन र कर्मले प्रजातन्त्रमा विश्वास गरोस् अनि नेपाली जनताको चाहना अनुरूप सुशासन र सम्बृद्ध प्रदान गर्न सकोस् । कतिपयलाई तितो लाग्न सक्छ, तर यस्तो विकल्प बन्न सक्ने योग्यता र क्षमता राप्रपामा मात्र छ । राप्रपामा रहेको फरक बिचार, देशव्यापी संगठन र अग्निपरीक्षाबाट उत्तीर्ण नेतृत्वको कारण राप्रपा देशले चाहेको वैकल्पिक शक्ति बन्न सक्दछ ।

यो धरातलीय यथार्थलाई हृदयंगम गर्दै आगामी दिनमा सक्रिय रूपले संगठन निर्माण र जनताको विश्वास  जित्ने काममा लाग्न आजको दिनमा म सम्पूर्ण पार्टीका साथीहरूमा आह्वान गर्दछु । राजसंस्था सहितको लोकतन्त्र र सनातन हिन्दुराष्ट्रको धरातलमा सबल र सम्बृद्ध नेपाल निर्माण गर्ने अभिभारा अब हाम्रो हो ।

विगतमा हामीबाट केही गम्भीर त्रुटि र कमजोरीहरू भएका छन् । हामीले त्यसबाट पाठ सिकेका छौँ । अब गल्ती दोहरिने छैनन् । त्यसर्थ आगामी दिनमा राप्रपालाई विश्वास गर्न, भरोसा गर्न र माया गर्न म नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा अपिल समेत गर्दछु।

२०७७ जेठ १५

-कमल थापा, अध्यक्ष, राप्रपा

अध्यक्ष थापाको भिडियो सन्देश

 

राप्रपाका अर्का नेता बुद्धिमान तामाङले पनि शुभकामना सन्देश दिँदै राजसंस्थासहितको प्रजातन्त्र, पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र पुनर्स्थापना र सुदृढ स्थानीय स्वायत्त शासनको आफ्नो दलको मुद्दा स्थापित हुँदै गएको जनाएका छन् । उनले त्यो अभिभारा पूरा गर्न राप्रपा कार्यकर्ता, देशभक्त एवं राष्ट्रवादी शक्ति र समस्त नागरिकमा अपिल गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि