जेठ ०६, २०८१, आइतबार
               

राप्रपा अध्यक्ष थापाद्वारा नेपाली भूमिमाथि हस्तक्षेप नगर्न आग्रह

नेपाल फ्ल्यास
जेठ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाली भूमि भएको बताउँदै यसमाथि हस्तक्षेप नगर्न आग्रह गरेका छन् ।  

थापाले ट्विट गर्दै भारतसँग यस्तो आग्रह गरेका हुन् । 

नेपालले विगत ६ दशकदेखि सिमा विवाद उठाउँदै आएको  उल्लेख गर्दै उनले सो ट्विटमा भारतले अटेरी गरेको बताएका छन् । 

थापाको ट्विटमा भनिएको छ, ‘सन् १८१६ को सन्धिअनुसार काली नदीदेखि पूर्वका क्षेत्र नेपालका हुन् । लिम्पियाधुरा, कालापानी र लिपुलेक काली नदीभन्दा पूर्वमा अवस्थित छन् ।’  

साथै थापाले नेपालले कसैको उक्साहटमा नक्सा जारी गरेको भारतीय सेना प्रमुखको भनाइलाई खण्डन गरेका छन् । 

नेपालले बुधबार भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटेर नयाँ नक्सा सार्वजनिक गरेको छ । 

भारतको विदेश मन्त्रालयले नेपालको कदमलाई आफ्नो भूभागको कृत्रिम वृद्धि गरेको आरोप लगाएको छ । 

तर, दुई पक्षबीच भएको समझदारीविपरीत भारतले नेपाली भूभागसमेत मिचेर चीनसँग जोड्ने सडक उद्घाटन गरेका कारण समस्या थप बल्झिएको थापाले उल्लेख गरेका छन् ।

‘हामी आफ्नो राष्ट्रिय अखण्डताको रक्षाका लागि पहल गर्न बाध्य भयौँ,’ थापाको ट्विटमा उल्लेख छ, ‘नेपाललाई आरोप लगाउन बन्द गरौँ ।’
थापाले नेपाल संवादका लागि तयार रहेको र नेपालसँग तथ्य र प्रमाण रहेको पनि उल्लेख गरेका छन् । 

‘हामी वार्ताको माध्यमबाट समस्या सुल्झाउन तयार छौँ,’ उनले भनेका छन्, ‘तथ्य र प्रमाणका आधारमा यो मुद्दा सुल्झाउन चाहन्छौँ।’   

साथै, उनले सन्धिविपरीत नेपाली भूमि अतिक्रमण गरी भारतले ६ दशकदेखि सीमाको कृत्रिम विस्तार गर्दै आएको बताएका छन् । 

वार्ताबाट समधान खोज्ने सहमतिविपरीत यसबीच अतिक्रमित क्षेत्रमा सैनिक ब्यारेक खडा गर्ने,बाटो बनाउने र नयाँ नक्सा बनाउने काम भारतले गरेको पनि उनको ट्विटमा उल्लेख छ । 

यो पनि