जेठ ०७, २०८१, सोमबार
               

नेकपा स्थायी कमिटी बैठक आज, कोरोना, सीमा र बजेटका विषय छलफल हुँदै

नेपाल फ्ल्यास
बैशाख ३१, २०७७

ADVERTISEMENT

लामो रस्साकस्सीपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक आज बुधबार बस्दै छ । बैठक बिहान ११ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने नेकपाले जनाएको छ । यसअघि वैशाख २५ गतेका लागि बोलाइएको स्थायी समिति बैठक स्थगित भएपछि बुधबारका लागि बोलाएको हो । यो स्थायी समिति बैठकलाई निकै चासोसाथ हेरिएको छ । 

केही दिनअघि मात्र भारतले नेपाली भूमि लिपुलेकमा सडक खनेर उद्घाटन गरेपछि यस विषयमा बहस तातिएको छ । नेपाली भूमि लिपुलेक फिर्ता गराउनुपर्ने चौतर्फी दबाबका बीच बस्न लागेको सत्तारुढ दल नेकपाको बैठकलाई चासोका साथ हेरिएको छ ।

सरकारले अहिले संसद्मा प्रि–बजेट छलफल गरिरहेको छ । २ जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र संवैधानिक व्यवस्थाअनुसार नै १५ जेठमा संसद्मा बजेट ल्याउनुपर्ने प्रेसरमा सरकार छ। यो विषयमा समेत बैठकमा छलफल हुनेछ ।

वैशाख २० गते बसेको नेकपा सचिवालय बैठकले वैशाख २५ गतेका लागि स्थायी समिति बैठक बोलाएको थियो । बैठकका एजेन्डाको विषयमा वैशाख २४ गते बसेको सचिवालय बैठक बसेको थियो । सो बैठकमा सहमति नजुटेको भन्दै अन्तिम समयमा २४ गते साँझ अनिश्चित समयका लागि स्थगित गरिएको थियो ।

पछिल्लो समय नेकपामा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले पार्टीभित्र छलफल नै नगरी राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएका थिए । त्यसपछि नेकपाभित्रको विवाद थप चर्किएको छ । यसै विषयमा स्पष्ट पार्न भन्दै पार्टीभित्रका २० जना स्थायी समिति सदस्यले बैठकको माग गरेका थिए । अध्यादेश अहिले फिर्ता भइसके पनि उनीहरूले बैठक बोलाउनै पर्ने माग नछाडेपछि बाध्य भएर नेतृत्वले बैठक बोलाएको हो ।


कस्तो लाग्यो ?

यो पनि