बैशाख २०, २०८१, बिहीबार
               

नेकपा विवाद : प्रचण्ड र नेपाल निकट नेताहरूको छुट्टै भेला
रोकिएको स्थायी कमिटी बैठक बोलाउन दबाब

नेपाल फ्ल्यास
बैशाख २५, २०७७

ADVERTISEMENT

पूर्वनिर्धातिर स्थायी कमिटी बैठक अनिश्चतकालका लागि स्थगित भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र असन्तुष्टि चुलिन थालेको छ । स्थायी कमिटी बैठकका माग गर्ने सदस्यहरूले छुट्टै भेला गरी बैठक तत्काल बोलाउन दबाब दिएका छन् ।  यसरी छुट्टै भेला गर्नेहरूमा वरिष्ठ नेता माधव कुमार नेपाल र पार्टी अध्यक्ष पुष्पकमल दाहाल पक्षधरका नेताहरू छन् । पार्टीका सचिवालय कमिटीले स्थायी कमिटी बैठकका एजेन्डा र प्रस्ताव तय गर्न नसकेर बिहीबार बस्ने भनिएको बैठक स्थगित भएपछि विवाद चुलिएको हो । 

असन्तुष्ट सदस्यहरूले छुट्टै भेला गर्दै तत्काल भेला बोलाउन दबाब दिएका छन् । बिहीबारका लागी तोकिएको बैठक स्थगित भएपछि निर्धारित मितिमै २० स्थायी कमिटी सदस्यहरूको छुट्टै भेला बसेको हो । बिहीबार ती नेताहरूले पार्टी मुख्यालय धुम्बाराहीमा भेला गरेका हुन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली इतर पक्षका नेताहरू सहभागी भेलाले पार्टीको विधान, पद्धति र प्रक्रिया तथा निर्णय एवं प्रतिबद्धता विपरीतका क्रियाकलाप भएको भन्दै त्यसलाई सच्चाउनुपर्ने निष्कर्ष निकालेको छ । 

बैठकमा सहभागी नेताहरूले पार्टी फुटाउनका लागि अध्यादेश ल्याएको, सांसद अपहरण जस्तो मुद्दालाई नजरअन्दाज गरेको, कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा प्रभावकारी काम हुन नसकेको भन्दै असन्तुष्टि जनाएका छन् । यसअघि उनीहरूले मङ्गलवार दिउँसो पनि ललितपुरको एक रेष्टुरेष्टमा भेला गरेका थिए । 
‘विभिन्न बहानाबाजीमा आज बस्ने भनिएको बैठक स्थगित गरियो, सचिवालयलाई तत्काल बैठक बोलाउन दबाब दिन भेला गरिएको हो,’ स्थायी कमिटी सदस्य गणेश साहले भने, ‘हामी २० जनाले पत्र लेखेर नै बैठक बोलाउन माग गरेका थियौँ । हामीले अडान छाडेका छैनौँ, बैठक बोलाउनु पर्छ ।’

उनीहरूले आफ्नो भेला कुनै गुट र कुनै नेताको पक्ष वा विरुद्धमा नभई पार्टीलाई विधान, पद्धति र प्रक्रिया अनुसार लैजानको लागी दबाब दिइएको बताएका छन् । वैशाख १० मा पत्र लेखेर २० जना स्थायी कमिटी सदस्यहरूले दुवै अध्यक्षलाई बैठक बोलाउन माग गरेका थिए । दुई विवादास्पद अध्यादेश ल्याउनुको कारण के थियो भनेर उनीहरूले प्रधानमन्त्रीसँग प्रश्न सोध्ने तयारीसमेत गरेका थिए ।

पत्र लेख्ने र भेला गर्ने २० स्थायी कमिटी सदस्यहरूमा गणेश साह, चक्रपाणि खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवप्रसाद गुरुङ देवेन्द्र पौडेल, पम्फा भुसाल, मणिचन्द्र थापा, मातृका यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल छन् । उनीहरू अध्यक्ष प्रचण्ड निकट मानिन्छन् । अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, बेदुराम भुसाल, भीमप्रसाद आचार्य, भीमबहादुर रावल, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, रघुजी पन्त र सुरेन्द्रप्रसाद पाण्डे  छन् । उनीहरू नेकपामा वरिष्ठ नेता नेपाल निकटका हुन् । भेला पार्टी कार्यालय धुम्बाराहीमा बसिरहेको बेला नेकपा अध्यक्ष दाहालले एक दुई दिनभित्र स्थायी कमिटीको बैठक बोलाउने आस्वसन दिएका छन् । 

यसअघि वैशाख २० गते बसेको नेकपा सचिवालयको बैठकले स्थायी कमिटी बोलाउने निर्णय गरेको थियो । तर, बुधवार बसको सचिवालय बैठकमा स्थायी कमिटी पेस गर्ने एजेन्डा र प्रतिवेदनवारे विवाद भएपछि बैठक अनिश्तकालका लागि रोकिएको हो ।


कस्तो लाग्यो ?

यो पनि