बैशाख २०, २०८१, बिहीबार
               

नेकपामा दोहोरो जिम्मेवारी खारेज प्रस्ताव पेचिलो बन्दै
अनुमोदन भए ओलीसहित ५० नेताको जिम्मेवारी खोसिने

नेपाल फ्ल्यास
बैशाख २३, २०७७

ADVERTISEMENT

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र उत्पन्न विवाद समाधानका लागि ‘एक व्यक्ति एक जिम्मेवारी’ कार्यान्वयनमा आए पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलगायत दर्जन बढी शीर्ष नेताहरूले एक पद छाड्नुपर्ने छ । करिब ५० केन्द्रीय नेताहरू  दोहोरो जिम्मेवारीमा छन् । उनीहरू सबैको दुईमध्ये एक जिम्मेवारी खोसिने छ ।

२५ गतेदेखि बस्ने स्थायी कमिटी बैठकमा ‘एक व्यक्ति एक जिम्मेवारी’ कार्यान्वयन हुनुपर्ने प्रमुख एजेन्डा राख्न लागिएकोले नेताहरू दोहोरो जिम्मेवारीबाट हट्नुपर्ने अवस्था आउन सक्ने देखिएको छ । आउँदो स्थायी कमिटी बैठकका एजेन्डा र सहमतीय प्रस्ताव तयार पार्ने जिम्मेवारी अर्को अध्यक्ष पुष्पकमल दाहालले पाएका छन् । यसबाट पार्टीमा विभिन्न नेताले लिएको दोहोरो जिम्मेवारी हटाउन दाहालमाथि दबाब परेको छ । 

सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेश जारी गरेपछि सत्तासीन दल नेकपामा बढेको विवादलाई सचिवालय बैठकले तत्कालको लागी साम्य पारेको भनिएको छ । तर पनि स्थायी कमिटी बैठकमा बल्झिन पनि सक्नेछ । समस्या थप बल्झिन नदिन दोहोरो जिम्मेवारीमा रहेका नेताहरूको एउटा जिम्मेवारी खारेज गर्ने प्रस्ताव लैजान दाहाललाई ओली आफैँले भनिसकेका बताइएको छ ।

वरिष्ठ नेता माधव कुमार नेपाल समूहले पार्टीलाई विधि र पद्धतिका आधारमा सञ्चालन गर्न ‘एक व्यक्ति एक पद’ को व्यवस्था गर्नुपर्नेलगायत माग गर्दै आएको छ । नेकपाभित्र पछिल्लो समय चुलिएको विवाद यसैको उपज हो । ‘एक व्यक्ति एक पद’ कार्यान्वयनमा नआएसम्म विवाद समाधान नहुने नेपाल पक्षका नेताहरूले बताएका छन् । यसैले यो व्यवस्था गर्दा स्थायी कमिटी बैठक लगतै अहिले दोहोरो जिम्मेवारी लिएका सबै नेताले एउटा छाड्नुपर्ने नेता वेदुराम भुसाल बताउँछन् । 

उनी भन्छन् ‘पार्टी विधान सम्मत चलाउन हाम्रो दबाब हो । दुई अध्यक्षबीच शक्ति बाँडफाँटको विषय मात्र नभएर समग्र पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्नुपर्ने भएकाले एक व्यक्ति एक जिम्मेवारी कार्यान्वयन गराउने  बैठकको एजेन्डा बन्ने छ  ।’ 

अहिले शीर्ष नेताहरूसहित करिब ५० केन्द्रीय सदस्यले दोहोरो जिम्मेवारीमा छन् । सबैभन्दा बढी पूर्वमाओवादीका नेताले दोहोरो जिम्मेवारी लिएका छन् । निर्णय अनुमोदन भएमा पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदमा रहेका ओलीले कुनै एक पद छाड्नुपर्ने छ । उपप्रधानमन्त्री एवं पार्टी स्कुल विभाग प्रमुख ईश्वर पोखरेलको पनि कुनै एक पद खारेज हुनेछ । यस्तै गृहमन्त्री र राजकीय मामला तथा सुशासन विभाग प्रमुख रामबहादुर थापाको पनि एउटा जिम्मेवारी खोसिने  छ ।

पार्टीको वन तथा वातावरण विभाग प्रमुख एवं वन मन्त्री शक्ति बस्नेत, शिक्षा तथा मानवस्रोत विभाग प्रमुख तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानी तथा सरसफाइ विभाग प्रमुख एवं खानेपानी मन्त्री बिना मगर, ऊर्जा तथा जलस्रोत सिँचाइ विभाग प्रमुख एवं ऊर्जामन्त्री वर्षमान पुनको समेत कुनै एक पद खोसिने छ ।

सहरी विकास प्रमुख तथा उद्योगमन्त्री लेखराज भट्टले समेत पार्टीको विभागीय प्रमुख पद वा मन्त्री पद दुईमध्ये एक छोड्नुपर्ने छ । यस्तै ३ मुख्यमन्त्रीले पनि कुनै उक पद छाड्नुपर्ने  छ। पार्टीका प्रदेश ५ का इन्चार्ज शङ्कर पोखरेल प्रदेश ५ का मुख्यमन्त्री छन् । यस्तै गण्डकी प्रदेश इन्चार्ज एवं पृथ्वी सुब्बा गुरुङ अहिले गण्डकी प्रदेशका मुख्यमन्त्री छन् । उनीहरुललगायत सबै नेताको दोहोरो जिम्मेवारी अन्त्य हुनेछ । तर दुईअध्यक्ष एक ठाउँमा आएको खण्डमा नेपाल समूहको जवडबलले मात्र यो प्रस्वाव पारित हुने अवस्था रहँदैन ।

यो पनि